चितवन विशेष
भरतपुरको शारदानगरमा खानेपानीको ट्याङ्की शिलान्यास

चितवन, कात्तिक ३-
भरतपुर महानगरपालिकामा शारदानगर खानेपानी आयोजनाअन्तर्गत ओभरहेड ट्याङ्कीको शिलान्यास गरिएको छ ।
महानगरपालिकाको १७, १९ र २० वडालाई समेट्ने गरी ५० करोड रुपैयाँ लगानीमा सम्पन्न हुने आयोजनाको बुधबार भरतपुर महानगरपालिका–१९ स्थित मिलडाँडामा महानगर प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् ।
सो अवसरमा प्रमुख दाहालले शारदानगर खानेपानी आयोजना भरतपुरको गौरवको आयोजना भएको बताउँदै यसलाई समयमै सम्पन्न गरेर नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न उपभोक्ता समितिलाई आग्रह गरिन् । उनले भरतपुर महानगरपालिकाले २९ वटै वडामा महानगरकै लगानीमा साना ठूला आयोजनाहरू निर्माण गरिएको जनाकारी दिँदै बाँकी निर्माणाधिन आयोजनाहरु छिट्टै सम्पन्न हुने बताइन् । प्रमुख दाहालले महानगरपालिका भित्र खानेपानीका पूर्वाधार र सरसफाइको क्षेत्रमा करिब तीन अर्ब बराबरको लगानी भइरहेको बताउँदै यी आयोजनाहरू सम्पन्न भइसक्दा भरतपुर महानगरपालिकाको सबै क्षेत्रमा शुद्ध पिउने पानीको पहुँच पुग्ने दाबी समेत गरिन् ।
प्रमुख दाहालले संविधानले शुद्ध पिउने पानीलाई नागरिकको आधारभूत अधिकारका रूपमा लिएकाले महानगरले पनि हाल भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, उपभोक्ता समितिमार्फत् आयोजनाबाट ८१ प्रतिशत नागरिकलाई शुद्ध पिउने पानीको पहुँच पु¥याइएको र निर्माणाधिन आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा पिउनेपानीको शत प्रतिशत पहुँच स्थापित गर्ने बताइन् ।
सो अवसरमा दाहालले भरतपुर महानगरपालिकाले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गरी दूधमा प्रतिलिटर तीन रुपैयाँ नगद अनुदान देखि यान्त्रीकरण र आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताइन् । उनले पूर्वाधारको क्षेत्रमा भरतपुर महानगरपालिकाले छलाङ मारेको भन्दै आफूहरु शिक्षा स्वास्थ्य सुशासन साथै महानगरको समग्र विकासमा केन्द्रित भएको उल्लेख गरिन् ।
यस्तै सो अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष कर्णबहादुर गुरूङले शारदानगर खानेपानी आयोजनाले यस क्षेत्रका उपभोक्ताहरूलाई शुद्ध र गुणस्तरीय पिउने पानीको सहज पहुँच स्थापित हुने बताउँदै यस आयोजनाबाट बढी भन्दा बढी लाभ लिन उपभोक्ताहरूलाई आग्रह गरे ।
अध्यक्ष गुरुङले एडीबी, भरतपुर महानगरपालिका र स्थानीय उपभोक्ता समितिको सहलगानीमा निर्माण प्रक्रिया अगाडि बढिरहेको बताउँदै गुणस्तरीय निर्माण कार्यमा नियमित अनुगमन र सहजीकरण गर्न उपभोक्तालाई आग्रह गरे ।
गुरुङले भरतपुरको समग्र विकासमा महानगरको मूल नेतृत्व केन्द्रित भएको भन्दै शारदानगर खानेपानी आयोजना , शारदानगर अस्पताल, रानीपोखरी पहुँच मार्गसहितको रमणीय पार्क निर्माणलगायतका उल्लेख्य कामहरू वडा न १९ मा सञ्चालनमा भइरहेको जानकारी दिए । कार्यक्रममा मिलडाँडा टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर गुरुङले यस आयोजनाले शुद्ध पिउने पानीको समस्या समाधान हुने बताउँदै यस क्षेत्रमा आयोजना सञ्चालन गरिदिएकोमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई धन्यवाद व्यक्त गरेका थिए ।
भरतपुर महानगरमा यस आयोजना सञ्चालनमा आएसँगै १९ हजार घरधुरी लाभान्वित हुने छन् । तीन बोरिङ, तीन ओभरहेड टंकी र २७४ किलोमिटर पाइपलाइन विस्तार हुनेछ । दुई वर्षमा सम्पन्न गर्ने गरी शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको छ ।

























