Breaking News
इपीएलः पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोज भिड्ने

काठमाडौँ, असोज १९–
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल)को पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोज भिड्ने भएका छन् ।
आज हुने भनिएको काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्सबीचको अन्तिम खेल भिजेको मैदानका कारण स्थगित भएपछि दुवै टिमले अंक बाड्न बाध्य भए । यससंगै लिग चरणका सम्पूर्ण खेल सकिएको छ ।
पाँच खेलमा चार जित र एक हारका साथ चितवन अंक तालिकाको शीर्ष स्थानमा रह्यो भने भैरहवासंग समान ७ अंक रहने पनि पोखरा राइनोज दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्ने टोली बन्यो । लिगमा पोखराले ३ जित निकालेको थियो भने भैरहवाले २ खेलमा मात्रै जित निकाल्यो । सोही जितको आधारमा भैरहवा क्वालिफायर खेल्ने मौका पाएको हो । पोखरा र भैरहवाको समान अंक भएपनि प्रतियोगिताको नियमअनुसार बढी जित दर्ता गर्ने टोली अघि रहने प्रावधान छ ।
पहिलो क्वालिफायर खेल भोलि (बुधबार) विहान ९ः३० बजेदेखि टियु मैदानमा हुनेछ । खेलमा विजयी हुने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोली दोस्रो क्वालिफायर खेल्ने छ । यस्तै भोलि दिउँसो १ः३० बजे नै इलिमिनेटरमा भैरहवा र काठमाडौँ भिड्ने छन् । प्रतियोगिताबाट साविक विजेता ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्स बाहिरिएको छ ।
विराटरनगर २ अंकका साथ पुछारमा रह्यो भने ललितपुर ३ अंकका साथ पाँचौँ स्थानमा रह्यो । इपिएलको फाइनल खेल असोज २३ गते शनिबार हुनेछ । विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।
























