Breaking News

दसैं नजिकिएसँगै नारायणगढमा किनमेल गर्नेको भीड, कोरोनाको जोखिम भने कायमै

Banner

चितवन, असोज १८-

चितवनमा कोरोना संक्रमण घटेसँगै बजारमा मानिसहरुको भीडभाड बढ्न थालेको छ ।

दसैं नजिकिएसँगै चितवनको प्रमुख बजार क्षेत्र नारायणगढमा चहलपहल बढेको हो । नारायणगढमा किनमेलका लागि जाने सर्वसाधारणको भीड बाक्लिएको छ ।

दसैंमा मिठो खाने, राम्रो लगाउने अनि आफ्ना आफन्तसँग भेटघाट गर्ने चलन रहिआएको छ । नेपालमा हिन्दू धर्मालम्बी मात्र नभई अरू धर्मका मानिसले पनि दसैँ मनाउने गर्छन् । भरतपुर महानगरपालिका–११ बाट कपडा किन्न शनिबार नारायणगढ पुगेकी ज्योति पोखरेल साडी किन्न बजार पुगेकी थिइन् । उनले कोरोनाको दोस्रो लहरपछि पहिलोपटक बजारमा त्यतिधेरै मानिसको भीड देखेको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘ अन्य दिन भन्दा शनिबार अझ धेरै मानिसको भीड थियो । नारायणगढका कपडा पसलहरुमा उभिने ठाउँसम्म थिएन ।’ दसैँमा विवाह गर्ने प्रचलन बढ्दै गएकोले पनि किन्नका लागि मानिसहरुको भीड बढेको उनको विचार थियो ।

विगत दुई वर्षदेखि कोरोना कहरका कारण दशैँ लगभग खल्लो नै रह्यो । यसपाली भने आशा पलाउन थालेको व्यवसायीहरु बताउँछन् । कोरोनाको जोखिम कायमै रहे पनि यसपाली भने प्रतिबन्ध खुकुलो भएसँगै केही सहज भएको छ । आम मानिसको जनजीवन विस्तारै लयमा फर्कदै छ । नारायणगढ मेनरोडमा रहेको कृति आर्युवेदकी बिक्रेता सुधा आचार्यले पनि बजारमा यसपटक मजाले दसैँ लागेको बताइन् । उनले भनिन्, ‘गत वर्ष खासै मानिसको चहलपहल नदेखिए पनि यसपटक चहलपहल बढेको छ ।’

यस वर्ष मानिसहरू आ–आफ्नो परिवारजनसँगै दसैं मनाउन पाउँदा खुसी छन् । सदा जस्तै दसैँको उमंगले विस्तारै मानिसको मन भरिन थालेको छ । यसैले पनि मानिसहरु दसैंको लागि किनमेल गर्न बजार निस्कन थालेका छन् । सोमबार नारायणगढको बजार सुनसान नै हुने गरेको भए पनि आज भने सोमबार पनि त्यत्तिकै मानिसहरुको चहलपहल देखिन्छ । मुख्य व्यापारिक केन्द्र शहिदचोक, मेनरोड, कमलनगरलगायतका क्षेत्रमा मानिसको बाक्लो उपस्थिति थियो ।

नयाँ लुगा तथा खाद्यान्न किन्नका निम्ति मानिसहरू बजार निस्कने गरेका छन् । जसले गर्दा चाडबाडको झल्को आउने गरेको छ । लगातारको कोरोना महामारीले क्रय शक्ति भने घटेको नारायणगढमा व्यापार गर्न आएकी गैँडाकोटकी सीता देवकोटाले नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘विगत वर्ष जस्तो कोरोनाले भएको लकडाउनले गर्दा विद्यालयमा पूरा तलब पाइएन । अन्य व्यवसाय नहुँदा आम्दानी घट्न गयो । पहिले पहिले जस्तो धेरै खर्च गरेर सामान किन्न सकिँदैन ।’

दसैमा नयाँ सवारीसाधन बाइक, कार, स्कुटर किन्नेहरुको संख्या पनि बढ्दै गएको छ । मालाश्री मोटर्सका प्रवन्धक भीमसेन श्रेष्ठले दसैँ लागेसँगै नयाँ सवारी किन्नेहरुको भीडभाड बढ्न थालेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ हामीले पनि मानिसहरुलाई दसैँ तथा तिहार केन्द्रित गरेर विभिन्न अफरहरु ल्याएका छौं । दैनिक, हप्ताको र बम्पर गरेर विभिन्न कुपनहरु स्क्रयाच गर्ने अफर ल्याएसँगै मानिसहरुको चहलपहल हाम्रो शोरुमहरुमा बढ्न थालेको छ ।’

बजारमा बढ्दो भीडभाडले कोरोनाको जोखिम भने चितवनमा कायम नै रहेको चिकित्सकहरु बताउँछन् । भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले चितवनमा कोरोनाको जोखिम मत्थर नभएको बताए । उनले नारायणी अनलाइनलाई भने, ‘संक्रमण दर घटेको देखिएको हो । भीडभाड बढ्दै जाँदा संक्रमण दर फेरि बढ्न सक्छ । यो मौसमी प्रकोप जस्तो भएर फेरि बढ्न पनि सक्छ । शून्यमा नै झर्छ भन्ने सम्भावना छैन ।’

फोटोहरु: प्रशिक्षार्थी पत्रकार सुधा आचार्य

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>