समाचार
प्रचण्डलाई छोडेर दुर्गा प्रसाईं केपी ओलीतिर

काठमाडौं, असोझ १६-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिने झापाका दुर्गा प्रसाई एमाले राजनीतिमा देखिएका छन्। एमाले र माओवादी केन्द्रको एकताका बेला उनको घरमा बसेर प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले ‘वार्ता’ गरेका थिए।
१० वर्षे सशस्त्र युद्धकै बेलादेखि प्रसाईं माओवादीमा सक्रिय थिए। सर्वोच्च अदालतले नेकपालाई पुरानो अवस्थामा फर्काइदिएपछि प्रसाईं प्रचण्डलाई छोडेर ओलीतिर लागेका हुन्। बिएन्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रसाईं सर्वोच्चले पार्टीलाई पुरानो अवस्थामा फर्काएकै बखतदेखि ओलीसँग नजिक हुँदै आएका थिए।
प्रसाईं अहिले एमालेको विधान महाधिवेशनमा झापाबाट प्रतिनिधि छन्। तीन दिनसम्म चल्ने उक्त महाधिवेशनमा उनी ‘चर्चा’को केन्द्रमा छन्।माओवादी र प्रचण्डलाई सहयोग गर्ने क्रममा आफू जेलसम्म परेको भन्दै प्रसाईं अहिले उनीसँग दुःखेसो पोख्ने गरेका छन्।
कुनै बेला प्रसाईंसँग जोडेर प्रचण्डको आलोचना पनि हुने गरेको थियो। ‘म माओवादी पार्टीकै लागि जेलसम्म बसेको हुँ। प्रचण्ड र केपी शर्मा ओलीलाई वार्ता गराएर नेकपा एकीकरण गराउन भूमिका खेलेको हुँ,’ प्रसाईंले भने, ‘प्रचण्ड जनयुद्ध नलडेका नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलहरूको घेराबाहिर निस्किन सक्नुभएन।’
माओवादी छोड्दा आफूलाई दुःख पनि लागेको प्रसाईंले बताए। ‘तर प्रचण्ड सुध्रिनुपर्छ। माधव नेपाल र नारायणकाजीहरूको संगत छोड्नुपर्छ,’ उनले भने।

























