Breaking News

यसरी मनाईयो चितवनमा जितिया पर्व (फोटो फिचर)

Banner

चितवन, असोज १३–

चितवनका थारु महिलाहरुले बुधबार धुमधामका साथ जितिया पर्व मनाएका छन् । आज जितियाको दोस्रो अर्थात मूख्य दिन हो । आज विहान भाले नबास्दै दर खाएका थारु महिलाहरु दिनभर निराहर ब्रत बसी झाम्टा नाच नाचेका छन् ।

बेलुकीपख ब्रतालुहरु खोलामा गई पातमा पिना बगाएर जलका साथै पिपलको हाँगा काटेर ल्याउँछन् । त्यसपछि सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । बुधबार साँझ सोही अनुरुप रुखको हाँगको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनेका छन्। कथा सकिएपछि सबै जना घर गएर फलाहार गरि आजको दिन समापन गरेका छन् ।

थारु समुदायको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितिया पर्व धुमधामका साथ मनाइरहेका छन् ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । आज जितियाको दोस्रो दिन अर्थात मूख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ ।

भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने ब्रत सकिएसंगै जितिया पर्व सकिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>