Breaking News
भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, चितवनमा ३५ कोरोना संक्रमित थपिए

चितवन, असोज १३-
भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार विगत २४ घण्टामा चितवनका एक जनाको सो अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै चितवनका विभिन्न अस्पतालमा ५३ जना कोरोना संक्रमित बिरामी रहेका छन् । जसमध्ये आईसीयूमा २२ जना, भेन्टिलेटरमा चार जना, एचडीयूमा २० जना, जेनरल बेडमा ११ जना रहेका छन् ।
चितवनमा विगत २४ घण्टामा १० जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्यसैगरी चितवनमा विगत २४ घण्टामा ३५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ३० जना, खैरहनीमा एक जना, माडी नगरपालिकामा एक जना र रत्ननगरमा तीन जना थपिएका हुन् । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या ५४६ जना पुगेको छ । जसमध्ये ५०६ जना घरमा आइसोलेसनमा र ४० जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।
























