Breaking News

प्रक्रिया पूरा नगरी सरकारी जागिर खुवाउँदै भरतपुरको नारायणी बहुप्राविधिक शिक्षालय

  • Logo
    app haru
  • १२ आश्विन २०७८, मंगलबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असोज १२  –
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीभिटी) अन्तर्गत सञ्चालित नारायणी बहुप्राविधिक शिक्षालय भरतपुरमा प्रक्रिया पूरा नगरी प्रशिक्षक नियुक्त गर्न खाजेको भन्दै विरोध भएको छ ।

शिक्षालयका प्रमुख इश्वरचन्द्र घिमिरेले आफूखुसी तीन दिने सूचना निकालेर आफू अनुकुलका प्रशिक्षक नियुक्त गर्न खोजेको भन्दै विरोध भएको हो । शिक्षालय प्रमुखले प्रक्रिया पूरा नगरी कर्मचारी नियुक्ति गर्ने तयारी गरेपछि विभिन्न सरोकारवालाले चितवनका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका थिए । प्रमुख जिल्ला अधिकारी उक्त शिक्षालयका सञ्चालक समितिका अध्यक्ष समेत हुन् । तर अध्यक्षलाई नै जानकारी नदिइ घिमिरेले आफू अनुकुलका मानिसलाई शिक्षालयमा भर्ति गर्न खोजेका थिए । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्ले प्रक्रिया पूरा गरेरमात्र कर्मचारी नियुक्त गर्न निर्देशन दिएका छन् ।

कुनै पनि सरकारी संस्थामा सेवा खरिद गर्दा सबैलाई जानकारी हुने गरी कम्तिममा पनि ७ दिनसम्म पत्रपत्रिकामा सूचना निकाल्नुपर्छ । तर प्रमुख घिमिरले असोज ७ गते आंशिक प्रशिक्षक चाहियो भन्दै सूचना निकाले । १० गतेसम्म आवेदन दिएकाहरुको नाम भन्दै उनले केही व्यक्तिको नाम विरेन्द्र बहुमुखी क्याम्पसलाई पठाए । उक्त नाममध्येबाट उपयुक्त उम्मेद्वार छनौट गरी सिफारिस गरिदिन घिमिरेले विरेन्द्र बुहुमुखी क्याम्पससँग आग्रह गरेको पत्रमा देखिन्छ । जसअनुसार विरेन्द्र क्याम्पसका प्रध्यापकहरुले उम्मेद्वारबाट छनौट गरी ५ जनाको नाम पठाएको पत्र पनि देखिन्छ ।

अंग्रेजी, नेपाली, गणित, फिजिक्स, कमेस्ट्रिी पढाउनका लागि ५ जनाको नाम सिफारिस भएको हो । उक्त नाम लिएर नियुक्त गराउन घिमिरे जिल्ला प्रशासन कार्यालयमा पुगे ।

आज मंगलबार जिल्ला प्रशासन कार्यालयमा घिमिरे पुग्दा सञ्चारकर्मी पनि पुगेका थिए । प्रजिअ आस्मान तामाङ्ले ३ दिन अघि सूचना निकाल्ने प्रावधान कहीँ पनि नभएकाले आफूले नियुक्तिको अनुमति दिन नसक्ने बताए । उनले सिटीभिटीको कुनै नयाँ छुट्टै प्रावधान भए त्यसैअनुसार गरेको प्रमाण पेस गर्न घिमिरेलाई निर्देशन दिँदै फिर्ता पठाए ।

सिटीभिटी नेपालका प्रवक्ता बिनोद बरालले नेपाल सरकारको नियम नै सिटीभिटीमा लागु हुने बताउँदै कुनै छुट्टै नयाँ नियम नरहेको जानकारी दिए । जसअनुसार स्थायी कर्मचारी नियुक्त गर्दा कम्तिममा पनि २१ दिन, सेवा करारमा नियुक्त गर्दा कम्तिममा पनि १५ दिन सूचना निकाल्नै पर्छ । आंशिकरुपमा कर्मचारी नियुक्त गर्दा पनि कम्तिममा ७ दिनसम्म सूचना निकाल्ने गरिन्छ ।

सिटीभिटीका बाग्रमती प्रदेश निर्देशक टैलेन्द्र आचार्यले आंशिकरुमा प्रशिक्षक राख्दा ठयाक्कै यो प्रक्रिया पूरा गर्नुपर्छ भनि नियमावलीमा नरहेको बताए । शिक्षालयमा आवश्यक परेको खण्डमा केही समयको लागि केही प्रशिक्षकलाई ज्यालादारीमा काम गराउन सक्ने उनको भनाइ छ । तर सञ्चालक समितिलाई जानकारी गराउने र काम गर्न इच्छुकहरु बढी भएको खण्डमा ७ दिने सूचना निकालेर छनोट गर्नुपर्ने उनले बताए ।

शिक्षालयका प्रमुख घिमिरेले तत्काल प्रशिक्षकको आवश्यकता परेकाले छोटो समयको सूचना निकालेको बताए । सञ्चालक समितिलाई सुरुमै जानकारी किन नगराएको ? भन्ने जिज्ञासामा उनले चितवनका प्रजिअ भर्खरै फेरिएका र नयाँ प्रजिअलाई भेट्न जाँदा कार्यालयमा नभेटिएकाले जानकारी दिन नसकेको बताए ।

उनले ६ महिनाका लागिमात्र आंशिक प्रशिक्षक आवश्यक परेको बताए । ६ महिनापछि स्थायी तथा सेवा करारमा प्रशिक्षकहरु ल्याइने उनको भनाइ छ । सेवा करार र स्थायी प्रशिक्षक ल्याउन समय लाग्ने हुँदा तत्काललाई आंशिकरुपमा प्रशिक्षक आवश्यक परेको उनले बताए ।

देशका दलित, मुसलमान र विपन्न समुदायका छात्रछात्राहरुले प्राविधिक शिक्षा लिन चाहेमा प्रदान गरिने छात्रवृत्ति कार्यक्रम अन्तर्गत ३६ महिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग कार्यक्रमका लागि प्रशिक्षक माग गरिएको थियो ।

हेर्नुहोस्, शिक्षालयको सूचना :

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>