Breaking News

चितवनका निजी अस्पतालहरुले मनपरी ओपीडी शुल्क असुल्दै

Banner

चितवन, असोज ११-

चितवनका निजी अस्पतालहरुले मनपरी ओपीडी शुल्क बढाएका छन् । विगत पाँच वर्षदेखि ओपीडी शुल्कमा पुनरावलोकन नभएको भन्दै अस्पतालहरुले शुल्क बढाएका हुन् ।

भरतपुर सरकारी अस्पतालमा सेवा प्रभावकारी नभएर भद्रगोल अवस्था भएकोले विभिन्न बाहनामा बिरामीहरु निजी अस्पतालमा जान बाध्य पारिन्छ । यसबाट गरिब बिरामीहरु निकै मर्कामा परेका छन् । निजीमा चर्को शुल्क असुलेर सर्वसाधारणको ढाड सेक्न चितवनको मेडिकल क्षेत्र नै लागेको छ । गरिब बिरामीको लागि आधारभूत स्वास्थ्य सेवा लिन न सरकारी र न निजी कतै पनि उपयुक्त देखिएको छैन ।

चितवन प्राइभेट अस्पताल एशोसिएसनका जिल्ला अध्यक्ष डा नारायणसिंह कुँवरले अस्पतालको सबै खालको शुल्क बढाउने अनुमति पाए पनि ओपीडी शुल्क मात्र बढाइएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘काठमाडौँमा अस्पतालहरुले ५०० बाट बढाएर ८७५ सम्म पु¥याएको भए पनि चितवनमा निकै कम मात्र बढाइएको छ । अस्पतालहरुलाई आफूखुसी शुल्क बढाउन अनुमति दिइएको छ । ओपीडी बाहेक अस्पतालका अन्य शुल्कमा पुनरावलोकन भएको छैन ।’ उनले अस्पतालअनुसार शुल्क तलमाथि हुन सक्ने बताए ।

चितवनमा नारायणी सामुदायिक अस्पतालले सामान्य ओपीडी शुल्कमा ६०० रुपैयाँ लिइरहेको छ भने भरतपुरकै ओम अस्पतालले सो शुल्क ७०० रुपैयाँ लिइरहेको छ । त्यसैगरी नारायणी सामुदायिक अस्पतालमा नै सिनियर डाक्टरहरुको शुल्क ८०० सम्म रहेको छ ।

निजी अस्पताल एशोसिएसन चितवनका अध्यक्ष कुँवरले स्वास्थ्य मन्त्रालयको समन्वयमा प्राइभेट अस्पताल एशोसिएनसले १० महिना अगाडि नै शुल्क बढाउने निर्णय गरेको भए पनि कोरोना महामारीको कारणले शुल्क बढ्न नसकेको बताए । उनले ओपीडी बाहेक अन्य शूल्कमा भने पुनरावलोकन नभएको बताए ।

त्यस्तै भरतपुरको ओमअस्पतालका प्रवन्ध निर्देशक ओमप्रसाद दवाडीले एमडी गरेका डाक्टरहरुको शुल्क एक हजार रुपैयाँसम्म लिन सकिने भए पनि एकैपटक धेरै शुल्क बढाउँदा विपन्न नागरिकलाई समस्या पर्ने भएकोले आफ्नो अस्पतालमा २०० मात्र बढाएको जानकारी दिए । त्यसैगरी नारायणी सामुदायिक अस्पतालका प्रवन्धक तिलक न्यौपानेले आफूहरुले ओपीडीमा ६०० रुपैयाँ लिइरहेको बताए । उनले भने, ‘ हामीले ६०० रुपैयाँ लिइरहेका छौं । नारायणी अस्पतालमा डाक्टर अनुसार फरक फरक शुल्क छ भन्ने मलाई केही जानकारी छैन ।’

चितवनमा नै रहेका दुई मेडिकल कलेजहरुलाई भने निजी अस्पताल एशोसिएनको यो निर्णय लागू हुँदैन । निजी अस्पतालहरुको शुल्क वृद्धिमा एकरुपता हुन नसक्नुले नागरिकमा अन्यौल बढाएको छ भने अस्पतालहरुलाई पनि मनपरी शुल्क असुल्ने छुट दिएको विज्ञहरु बताउँछन् ।

सम्बन्धित समाचार :

मेसु र अध्यक्ष नै निजीमा व्यस्त हुँदा भद्रगोल बन्यो भरतपुर सरकारी अस्पताल, निजी जान बाध्य छन् गरिब बिरामी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>