Breaking News

अदुवा रोप्ने सोँच, बन्यो रिसोर्ट….

Banner

ध्रुवराज खनाल,

चितवन, असोज ७–

चितवनको पहाडी क्षेत्र राप्ती नगरपालिकाको किरनटारमा मिनी रिसोर्ट निर्माण गरिदैछ । स्थानीय रमेश न्यौपानेले नगरपालिकाको वडा नम्वर १० किरनटारमा ४ कठ्ठा क्षेत्रफलमा रिसोर्ट वनाउन लागेका हुन् । पहाडी वातावरणको स्वच्छ हावापानीमा रमाउन चाहनेहरुलाई मध्यनजर गर्दै न्यौपानेका दम्पतीले रिसोर्ट संचालन गर्न लागेका हुन् ।

वैदेशिक रोजगारीमा लामो समय बिताएका न्यौपानेले राप्ती–८ खुरखुरेमा दुई वर्ष खाना खुवाउने होटल संचालन गरेका थिए । उनी कतार र कुवेतमा काम गरेर फर्किएका हुन् । उनी इलेक्ट्रोनिक्स पेशा गर्दथे । कतारपछि उनी कुवेत पाँच वर्ष बसे । कुवेतमा रहँदा न्यौपानेमा अल्सर रोग देखा पर्‍यो । त्यसपछि उनी स्वदेशमै केही काम गर्ने योजना बनाए । त्यसपछि खाना खुवाउने होटल संचालन गरे । उनकी श्रीमती रमा न्यौपाने बुटिक व्यवसायमा गर्थिन् ।

रोग देखिएपछि न्यौपाने स्वच्छ वातावरण जीवन जीउन पहाडी क्षेत्र लागे । किरनटारमा जग्गा खरिद गरे । त्यहाँ अदुवा खेती गर्ने उनले सोँच बनाए । तर उनले सोँचे भन्दा फरक भयो । पहाडी क्षेत्रमा रमाउने मानिस धेरै भएको र त्यस ठाउँमा बास बस्ने, रमाउने ठाउँ नभएकाले उनलाई आवाससहितको होटल खोल्न सुझाव आयो । सोही अनुसार उनी होटल संचालन गर्न कस्सिए र अहिले धमाधम मिनी रिसोर्टको काम भईरहेको छ ।

झण्डै ७० लाख रुपैयाँ खर्चेर मिनि रिसोर्ट बनाउन लागिएको संचालक न्यौपानेले बताए । हाल २ वटा कोठा तयारी भईसकेको छ । तत्काललाई ४ वटा कोठा निर्माण गरिने उनले जानकारी दिए । दशै अगाडी काम सक्ने उनको योजना छ । दुई वटा कोठा, पार्किङ्ग र परिसर निर्माणका काम धमाधम भईरहेको न्यौपानेले बताए । अहिले सम्म ५० लाख रुपैयाँ खर्च भईसकेको भन्दै उनले अब २० लाख रुपैयाँमा निर्माण सम्पन्न हुने पनि बताए । ‘रिसोर्ट संचालन गर्ने पूर्व तयारी थिएन’ न्यौपानेले भने ‘अदुवा रोप्ने योजना बनाएर आएको सल्लाह अनुसार रिसोर्ट बनाईयो ।’

दुई वटा कोठा निर्माण भईसकेकाले फाट्टफुट्ट मात्रामा मानिसहरु बस्ने गरि आईरहेका छन् । ‘खाजा खाएर फर्किने न त धेरै छन्’ न्यौपानेले भने ‘बास बस्ने गरि कहिलेकाँही मानिसहरु आउँछन् ।’ होटल संचालन गरेको अनुभव भएकाले तत्काल दम्पती मिलेर व्यवसायलाई अघि बढाउने रिसोर्ट संचालिका रमा कार्की न्यौपानेले बताईन् । ‘सेवा र गुणस्तरमा ध्यान दिएर ग्राहकलाई खुसी पार्छौ’ न्यौपानेले भनिन् ‘स्वच्छ र मनोरम वातवारणमा रमाउनेहरु आउनेमा विश्वस्त छौं ।’ किरनटारको क्रस ड्याम हेर्न,नुहाउन र स्वच्छ वातवारणमा रमाउन यहाँ आन्तरीक पर्यटकहरु आउने गर्दछन् । पूर्व पश्चिम राजमार्ग अन्र्तगत राप्ती नगरपालिकाको खुरखुरेबाट झण्डै १० किलो मिटर उत्तर तर्फ किरनटार पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>