समाज

घाँस काटिरहेकी महिलालाई ढुंगाले हानेर बेहोस बनाई गहना लुटियो

Banner

पोखरा,असोज ५-

पोखरामा घाँस काटिरहेकी महिलालाई ढुंगाले हानेर बेहोस बनाई गहना लुटिएको छ । पोखरा ३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङको दुवै कान काटेर एक तोलाको रिङ लुटिएको हो । घरबाट एक सय मिटर पर बारीमा घाँस काट्न गएकी गुरुङलाई थाहै नपाई एक युवक एक्कासी आएर ढुंगाले घाँटीमा हानी बेहोस बनाएको उनका श्रीमान धनमान गुरुङले जानकारी दिए । त्यसपछि ति युवकले दुवै कान काटेर आधा आधा तोलाको दुई वटा बेरुवा रिङ लिएर भागेका थिए ।

मरियम घाइते भएको नजिकै छिमेकी घरकाले देखेपछि होहल्ला गर्दा घरपरिवारले थाहा पाएका थिए । मरियमले रातोमा सेतो धर्का भएको सर्ट लगाएको पातलो मान्छे देखेको र उसको हातमा काट्ने हतियार पनि भएको बयान दिएकी छन् । आफूलाई ढुंगाले हानेपछि केही थाहा नपाएको उनले बताएकी छन् ।

घटनापश्चात् राजाको चौतारा प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेका थिए । तत्काल घाइते गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याई कानमा टाँका लगाई थप उपचार गरिएको श्रीमान् धनमानले बताए । घटनापछि गाउँले त्रासमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>