समाज
कमेडी च्याम्पियन विजेता भरतमणिले भने – जित मेरो मात्र होइन सबैको हो

काठमाडौं,असोज ३-
शनिबार मध्य राति सम्पन्न कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को विजेता भरतमणि पौडेलले आफुलाई विजेता बनाउन सहयोग र साथ दिने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् । विजेता घोषणा भएको केही घण्टापछि सामाजिक संजालमा एक पोष्ट गर्दै पौडेलले यो जित आफ्नो मात्र नभएर सबैको भएको बताएका हुन् ।
सबै प्रिय भगवानरुपि दर्शक तथा समर्थकमा नमस्कार भन्दै उनले सुरु गरेको स्टाटसमा उनले सबैको प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने समेत बताएका छन् । ‘विश्व भुगोलमा बसोबास गर्नु भएका सम्पुर्ण नेपाली र नेपाली मनहरू प्रति हृदय देखिनै आभार प्रकट गर्दछु । तपाईहरुले यस्तो महामारिको समयमा पनि प्रतिस्पर्धा गरिरहँदा मेरो हसाउने प्रयासलाई साथ दिनु भएको छ’ उनले अगाडि लेखेका छन् ‘मेरो लागि देश तथा बिदेशमा अभियान चलाइदिनुभयो । मलाई सधै अगाडि बढ्न प्रेरित गर्न गरिरहनु भयो ।’
अवको दिनमा आफुलाई सही बाटोमा हिड्न खबरदारी गर्ने जिम्मा समेत सबैको रहेको बताएका उनी अगाडि थप्छन् ‘कमेडी च्याम्पियन सिजन २ को उपाधि जित्न सफल पनि तपाइँहरुकै साथले सम्भव भएको हो ।

























