Breaking News

भरतपुर महानगरलाई किन टेर्दैनन् स्थानीय ? फोहोर फाल्न चारैतिर अवरोध, ठिमुरामा पनि विरोध

  • Logo
    app haru
  • २ आश्विन २०७८, शनिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असोज २ –
भरतपुर महानगरपालिकाका लागि यति बेला फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ । फोहोर फाल्न लगिने स्थानका स्थानीयहरुले फोहोर फाल्न अवरोध गरिरहेका छन् । महानगरले जहाँ फोहोर फाल्न खोज्छ त्यहाँ स्थानीयले विरोध गर्ने गरेका छन् । महानगरले ल्याण्डफिल साइड समयमै बनाउन नसक्दा फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण बनिरहेको छ ।

भरतपुर महानगरपालिका–३ नगरवनको क्षेत्रमा विगत २४ वर्षदेखि फोहोर फालिँदै आएको थियो । तर त्यहाँ डेढ वर्षअघि स्थानीयले विरोध गरेर फोहोर फाल्न रोके ।

त्यसपछि भरतपुर महानगरले भरतपुर २४ ध्रुवको केरुङ्गा खाल्टोमा फोहोर फाल्ने निर्णय गर्‍यो । र त्यहीँ फोहोर फाल्दै आएको थियो ।

हिउँदको समयमा नगरवन नजिकको नारायणी नदीमा रहेको आइल्याण्ड टापुमा पनि फोहोर फाल्ने गरिन्थ्यो । त्यहाँ पनि स्थानीयले विरोध गरेर टापुमा फोहोर फाल्न रोके ।

त्यसपछि महानगरको फोहोर फाल्ने एउटै विकल्पको रुपमा रहिरहेको थियो भरतपुर महानगरपालिका २४ को ध्रुव । त्यहाँ पनि स्थानीयले पटकपटक विरोध गर्दै फोहोर फाल्न अवरोध गर्दै आएका छन् । जसले गर्दा नारायणगढ बजारमा पटकपटक हप्तौंदेखि फोहोर उठ्न नसक्दा बजार क्षेत्र नै दुर्गन्धित बन्ने गरेको छ । यो अवस्था पटकपटक दोहोरिन थालेपछि अहिले महानगरको चौतर्फी विरोध भइरहको छ ।

यसपछि भरतपुर महानगरले गत बिहीबार (भदौ ३१ गते) भरतपुर महानगरपालिका १ को ठिमुरामा फोहोर फाल्ने निर्णय गर्‍यो । भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले महानगरको बोर्ड बैठकबाट ठिमुरामा लगेर फोहोर फाल्ने निर्णय गरिएको जानकारी दिए । उनले भरतपुर २४ बजार क्षेत्रबाट १८/२० किलोमिटर टाढा हुँदा फोहार लैजान ठेकेदारले गाह्रो मानिरहेको र स्थानीयले पनि पटकपटक विरोध गरिरहेकाले ठिमुरामा पनि फोहोर फाल्ने निर्णय गरिएको जनाए ।

उक्त निर्णय भएलगत्तै ठिमुराबासीले ठिमुरामा फोहोर फाल्न नदिने भन्दै महानगरको निर्णयको विरोध गरेका छन् । आज शनिबार ठिमुराबासीहरुले विरोध प्रदर्शन गरेका छन् ।

देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेलले स्थानीयसँग कुनै सल्लाह नै नगरी, कुनै गुरु योजना नै तयार नपारी महानगरले एकलौटीरुपमा ठिमुरामा फोहोर फाल्ने निर्णय गरेको भन्दै महानगरको उक्त निर्णय आफूहरुलाई स्वीकार्य नहुने बताए । यस्तै पवित्र स्थल देवघाट क्षेत्रमा फोहोर फाल्ने निर्णय गर्नु महानगरको गलत कदम भएको उनको भनाइ छ ।

महानगरका प्रवक्ता भण्डारीले ठिमुराबासीसँग बसेर सल्लाह गरेर अघि बढ्ने बताए । ‘केही समयको लागि ठिमुरामा फोहोर फाल्न खोजेका हौं’ प्रवक्ता भण्डारीले भने, ‘एक वर्षभित्रमा त हामीले रामनगरमा बनाउन खोजेको ल्याण्डफिल साइड पनि तयार हुन्छ होला । कोरियन कम्पनीले छिट्टै काम सुरु गर्ने बताएको छ ।’ भरतपुर महानगरपालिका ११ को जंगल क्षेत्रमा रामनगर नजिक स्थायीरुपमा ल्याण्डफिल साइड बनाउन दुई वर्षअघि कोरियनहरुको संस्थाले डिपिआर बनाएर महानगरसँग सम्झौता गरिसकेको छ । तर अझै काम सुरु हुन सकेको छैन ।

२४ वर्षदेखि फाल्दै आएको नगरवनमा स्थानीयको विरोध किन ?

विगत २४ वर्षदेखि फाहोर फालिँदै आएको स्थानमा डेढ वर्षअघि स्थानीयले फोहोर फाल्न रोके । सडकमै सुतेर विरोध गरी स्थानीयले फोहोर फाल्न रोकेका थिए ।

पत्रकार समेत रहेका नारायणी दोबान टोल विकास संस्थाका अध्यक्ष सूर्य बरालले अव्यवस्थित तरिकाले फोहोर फाल्न थालेपछि रोकेको बताए । ‘हामीले पटकपटक व्यवस्थित तवरले फोहोर फाल्नुस् । आधुनिक ल्याण्डफिल साइड बनाउनुस् भन्यौं’, उनले भने, ‘तर उहाँहरुले सँधै अव्यवस्थित तवरले वस्ती नजिकै ल्याएर फोहोर फालिरहनु भयो । अनि हामीले रोक्यौं ।’

‘जनप्रतिनिधि आइसकेपछि केही सुधार होला भन्ने अपेक्षा थियो । ल्याण्डफिल साइड बन्ला भन्ने आश थियो । तर कोही आएर पनि केही गरेनन् । वस्ती बढ्दै गयो । अनि स्थानीयले घर नजिक ल्याएर फोहार फाल्न नदिने निर्णय गरे’ उनले भने ।

कोरियन कम्पनीले काम नगरे अर्काे कम्पनीलाई जिम्मा दिएर महानगरले छिटो ल्याण्डफिल साइड बनाउनतर्फ ध्यान दिनुपर्ने उनले धारणा राखे ।

‘मैले पहिलै नगरपालिका हुँदा खेरी नै एउटा प्रस्तावना दिएको छु । फोहोरबाट मोहोर बनाउन सकिन्छ । यसरी काम गर्नुस भनेर’, उनले भने, ‘तर उहाँहरु त्यही पूरानै ठेकेदारलाई दिने । नारायणीमा अव्यवस्थित तरिकाले फोहोर फाल्ने गुर्नभयो ।’

नगरवन वारी स्थानीयले रोकेपछि महानगरले नगरवन नजिकको आइल्याण्ड टापुमा फोहोर फाल्ने गरेको थियो । तर त्यो टापुमा लगेर फोहोर थुपार्दा नदीले बहाब परिवर्तन गरी वस्ती पसेकाले त्यहाँ पनि फाल्न आफूहरुले रोकिदिएको बरालले बताए ।

ध्रुवका स्थानीयले किन गर्छन् पटकपटक अवरोध ?

जुन सम्झौता गरेर भरतपुर महानगरले ध्रुवको केरुङ्गा खाल्टोमा फाहोर फाल्ने निर्णय गरेको थियो । सो सम्झौताअनुसारको माग महानगरले समयमै पूरा नगर्दा स्थानीयले पटकपटक विरोध गर्दै आइरहेका भरतपुर २४ का वडाध्यक्ष कान्छा मल्लले जानकारी दिए ।

‘हामीले चाहीँ यहाँको विकास हुन्छ । वडाको विकास हुन्छ । क्षेत्रलिंग बौद्ध गुम्बाको विकास हुन्छ भनेर फोहोर फाल्न दियौं’, उनले भने, ‘महानगरले पनि माग पूरा गर्ने गरी सम्झौता गरेर फोहोर फाल्यो । तर माग पूरा गर्न महानगरले ढिला गर्दा स्थानीयहरुले पटकपटक अवरोध गर्र्दै आएका छन् ।’

सम्बन्धित समाचार :

फोहोर उठ्न नसक्दा दुर्गन्धित बन्यो नारायणगढ बजार (फोटो/भिडियोसहित)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>