Breaking News

आँखा उपचार केन्द्र पर्सालाई पाण्डे परिवारले दिए डेढ करोडको जग्गा

Banner

ध्रुवराज खनाल,

चितवन, असोज २–

भरतपुर आँखा अस्पतालको शाखाको रुपमा खैरहनीको पर्सामा रहेको आँखा उपचार केन्द्रलाई करिब डेढ करोड बराबरको जग्गा प्राप्त भएको छ । पर्साका समाजसेवी स्वर्गीय जनकबहादुर पाण्डेका छोराहरू जगतबहादुर पाण्डे, सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले संयुक्त स्वामित्वमा रहेको खैरहनी–८ को वडा कार्यालय नजिकको जग्गा केन्द्रलाई दिएका हुन् ।

उनिहरुले केन्द्रको नाममा जग्गा नामसारी गरिदिएका छन् । पूर्वी चितवनलाई सेवा प्रदान गर्ने उद्वेश्यले वि.सं.२०६५ सालदेखि लायन्स क्लव अफ चितवन इस्टको स्थानीय व्यवस्थापनमा संचालन हुने गरी आँखा उपचार केन्द्र स्थापना गरिएको थियो । स्थापनाकालदेखि केन्द्र भाडाको घरमा संचालनमा छ । उपचार केन्द्रमा बिरामीको चाप बढ्दै जानु, आँखाको शल्यक्रियासम्मको अतिरिक्त सेवा विस्तार गर्ने लक्ष्य अनुसार सुविधायुक्त भवनको आवश्यक थियो ।

लायन्स क्लब अफ चितवन इस्टका पूर्व अध्यक्ष एवं उपचार केन्द्रका अध्यक्ष केएन सिलवालका अनुसार हालको प्रचलित बजार मूल्य अनुसार करिव एक करोड पचास लाख भन्दा बढी मूल्य पर्ने जग्गा पाण्डे परिवारले केन्द्रलाई दान गरेका हुन् । सो जग्गा नेपाल नेत्र ज्योति संघको नाममा मालपोत कार्यालय खैरहनीबाट पास भएको सिलवालले बताए ।

सो जग्गामा आधुनिक भवन निर्माण गरी जनकबहादुर पाण्डे मेमोरियल आँखा उपचार केन्द्रको नामबाट संचालन गर्ने गरी आवश्यक प्रकृया समेत अघि बढाइसकिएको क्लबका पूर्व अध्यक्ष सिलवालले जानकारी दिए । क्लबका पूर्व अध्यक्ष भिमबहादुर पाण्डेको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा बुद्वीराज डल्लाकोटी, लक्ष्मण निरौला, चन्द्रप्रसाद सापकोटा र रामचन्द्र विश्वकर्मा रहेका छन् ।

निर्माण समितिले भवनको नक्सा तयार गरी ६ महिना भित्र पहिलो र दोस्रो तल्ला निर्माण गर्ने लक्ष्य लिएको पूर्व अध्यक्ष सिलवालले बताए । उपचार केन्द्रमा आवश्यक पर्ने मेडिकल सामग्रीको लागि आवश्यक पहल गरी थप अपनत्व समेत लिन लायन्स क्लव इन्टरनेशनल,डिस्ट्रिक्ट ३२५ वी २ नेपालका डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टलाई अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>