चितवन विशेष
नेपाली कांग्रेस भरतपुर महानगरको सचिवमा आचार्यको उम्मेदवारी घोषणा

चितवन, भदौं ३०
नेपाली कांग्रेसका युवा नेता नेत्र नारायण आचार्यले भरतपुर महानगरपालिकाको सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
१२ वर्षको उमेरमा माडी माध्यमिक विद्यालयबाट राजनीतिक यात्रा सुरु गरेका आचार्य अहिले भरतपुर महानगर वडा नम्बर ५ कांग्रेसको सचिवको रुपमा काम गर्दै आएका छन् ।
विसं. २०३४ सालमा जन्मिएका आचार्यको पारिवारिक पृष्ठभूमि कांग्रेसको साधारण सदस्यबाहेक केही थिएन । जब उनी नेविसंघको राजनीतिमा लागे त्यसपछि माडी माविको उपसभापति भएर समेत काम गरे । माडीबाट राजनीतिक यात्रा सुरु गरेका आचार्य भरतपुर बसाई सरेर आए पनि आफ्नो राजनीतिक यात्रालाई जारी राख्दै १४ औं महाधिवेशनका क्रममा आफूलाई नगर सभापतिको बलियो दावेदारका रुपमा प्रस्तुत गरेका छन् ।
उनी कांग्रेसका हरेक आन्दोलनमा सक्रिय भएर लाग्ने निडर योद्धाको रुपमा चिनिन्छन् । यसै क्रममा २०५१ सालको आम निर्वाचनमा उनलाई माडीमा निर्वाचनका क्रममा तत्कालिन अमिक शेरचन नेतृत्वको राष्ट्रिय जनमोर्चाले २४ घण्टा नजरबन्दमा राखेको उनले स्मरण गरे । राजनीतिकरुपमा सक्रिय रहँदै आएका आचार्य १४ औं महाधिबेशनमा वडा बाट क्षेत्रीय प्रतिनिधिको रुपमा आएसँगै सचिवको दौडमा लागेको बताए ।
राजनीतिमा त्याग र योगदानको खाँचो रहेको भन्दै उनले निर्वाचनमा विजयी भएसँगै पाँच वर्ष कुनै पनि निर्वाचनमा भाग नलिई पार्टीलाई बलियो बनाउन लाग्ने प्रतिबद्धताका साथ अघि बढेको बताए । आफ्नो इमान्दारिताको कदर गर्दै निर्वाचनमा विजयी हुने अपेक्षा रहेको उनको भनाइ छ ।
























