Breaking News
विश्व क्रिकेट लिग २ः नेपाल आज घरेलु टोली ओमानसंग भिड्दै

काठमाडौँ, भदौ २९–
आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो सिरिजमा विजयी सुरुवात गरेको नेपालले आज (मंगलबार) घरेलु टिम ओमानसंग भिड्दै छ ।
नेपालको खेलको नेपाली समय अनुसार अल अमिरत क्रिकेट रंगशालामा दिउँसो सवा चार बजे सुरू हुनेछ।
लिग–२ मा नेपालले घरेलु मैदान काठमाडौँमा ओमानसँग दुई खेल खेलिसकेको छ। तर दुवै खेलमा नेपाल पराजित भएको थियो । सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो।
ओमान सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले हिजो अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेपछि नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गरेको हो ।
विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । नेपाल समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।
यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ । अमेरिका १३ खेलमा छ खेलमा जित र सातमा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ ।
यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ ।
लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।






















