Breaking News
क्यान्सर अस्पतालमा अक्सिजन अभाव नहुने, जडान भयो लिक्विड अक्सिजन ट्यांक

चितवन, भदौ २७–
देशकै पुरानो वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अब अक्सिजन अभाव नहुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एक समय अक्सिजन अभाव झेलेको क्यान्सर अस्पतालमा अहिले प्रयाप्त मात्रामा पुग्ने अक्सिजन प्लान्टहरु जडान गरिएको छ ।
अस्पतालमा भर्खर मात्रै २० मेट्रिक टनको लिक्विड अक्सिजन ट्यांक जडान गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले नारायणी अनलाइनलाई जानकारी दिए । ‘अक्सिजन अभावलाई परिपूर्ति गर्न लिक्विड अक्सिजन ट्यांक जडान गरेका छौं, अब हामीले अक्सिजनको अभाव झेल्न नपर्ने भयो’–डा.गौतमले भने ।
लिक्विड अक्सिजन ट्यांकबाट सप्लाई गरिने अक्सिजन सिधै वार्डहरुमा पाइप मार्फत पु¥याईएको छ । जसका कारण अक्सिजन खेर पनि नजाने डा.गौतमले बताए । ‘सिलिण्डरबाट १५ प्रतिशत अक्सिजन खेर जान्थ्यो र अब शतप्रतिश अक्सिजन प्रयोगमा आउँछ’–डा.गौतमले भने । उनले यसबाट ९९ प्रतिशत शुद्ध अक्सिजन प्राप्त हुने दावी गरे ।
डा.गौतमका अनुसार लिक्विड अक्सिजन ट्यांक प्रविधि कम खर्चिलो र कफिायती पनि छ । दैनिक २२ सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । यो जडानका लागि ८० लाख रुपैयाँ खर्च भएको छ ।
क्यान्सर अस्पतालमा यसअघि दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट मात्रै थियो । जसका कारण कोभिड माहामारी उच्च भएको बेला अक्सिजन अभाव झेल्नु परेको थियो ।
१४० वटा कोरोना उपचार बेड
क्यान्सर अस्पतालले यसपटक कोरोना भाइरसको उपचारका लागि पनि व्यवस्थित गरेको छ ।
कोरोना डेडिकेटेड बेडको रुपमा १४० बेड छुट्याईएको कार्यकारी निर्देशक डा.गौतमले बताए । उनले भने–‘यसपटक कोरोनाका बिरामी उपचार गर्न हामीलाई समस्या छैन, छुट्टै व्यवस्थित बेड छुट्याएका छौं, बेडमै अक्सिजन पुर्याएका छौं ।’
उनले हाल कोरोनाका बिरामी नभएकाले कोरोनाका लागि छुट्याएको बेडमा अन्य बिरामीको उपचार गरि सदपुयोग गरिरहेको बताए । पहिलो चरणको कोभिड महामारी भित्रदा जिल्लामा अक्सिजनको हाहाकार मच्चिएको थियो । क्यान्सर अस्पतालमा कोभिड पश्चात अहिले बिरामीको संख्या पनि बढ्दै गएको छ ।






















