अन्तर्राष्ट्रिय
अफगानिस्तानमा पढाइ सुरु, कक्षाकोठामा छात्र र छात्राहरुको बीचमा पर्दा

एजेन्सी,भदौं २१-
अफगानिस्तानमा करिब १ महिनाको उतारचढावपछि कलेज र विश्वविद्यालयमा पढाइ सुरु भएको छ । तालिबानले छात्राहरुलाई पढ्न अनुमति दिएको छ तर उनीहरुले कडा प्रतिबनधको पालना गर्नुपर्नेछ । सोमबार मजार–ए–शरीफस्थित इब्न–ए–सीना विश्वविद्यालयको कक्षाकोठाको तस्वीर सार्वजनिक भएको छ । फोटोमा कक्षाकोठालाई पर्दाको प्रयोग गरेर २ भागमा विभाजन गरिएको छ । पर्दाले छुट्याएको एकतर्फ छात्र र अर्कोतर्फ छात्राहरु बसेका छन् ।
तालिबानले छात्राहरुलाई पढ्न अनुमति दिएको छ तर कलेज वा विश्वविद्यालय जाने हरेक छात्राले अनिवार्य नकाब लगाउनुपर्नेछ । निजी विश्वविद्यालयमा पढ्ने छात्राहरुले बुर्का लगाउनुपर्नेछ । हरेक छात्राहरुले धेरैजसो समय आफ्नो अनुहार ढाकेर राख्नुपर्नेछ । अफगानिस्तानमा तालिबान राजभन्दा पहिले निकै कम महिलाहरु बुर्का वा नकाब लगाएका देखिन्थे तर अब तालिबानको नियन्त्रणपछि लगभग सबैजसो महिलाहरुले बुर्का वा नकाब लगाउन थालेका छन् ।

























