कृषि

रत्ननगर नगरपालिकालाई घरेलु उपज बिक्री केन्द्रको भवन हस्तान्तरण

Banner

चितवन, भदौं २०-

चितवनको रत्ननगरमा निर्माण गरिएको घरेलु उपज बिक्री केन्द्रको भवन आज रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

रत्ननगर नगरपालिका–२ अन्तर्गत तरकारी मण्डी नजिक निर्माण गरिएको सो भवन नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु सामग्री किनबेच गर्ने उद्देश्यले प्रदेश सरकारको लगानीमा घरेलु तथा साना उद्योग कार्यालय चितवनले बिक्री केन्द्रको भवन निर्माण गरेको थियो । नगरपालिकाको निगरानीमा सञ्चालन तथा व्यवस्थापन समितिले सो केन्द्र सञ्चालन गर्नेछ । केन्द्र सञ्चालनको लागि डबल श्रेष्ठ अध्यक्ष रहेको समिति समेत बनाइएको छ ।

कार्यक्रममा रत्ननगरका नगर प्रमुख नारायण वनले जिल्ला विकास समितिका सभापति कृष्णकुमार डल्लाकोटी र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यको रोहवरमा सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठलाई बिक्री केन्द्र हस्तान्तरण गरेका छन् ।

प्रमुख वनले समितिलाई हस्तान्तरण गरेसँगै विधिवत रुपमा केन्द्र सञ्चालनमा आएको छ । सो अवसरमा मेयर वनले स्थानीय स्तरमा उत्पादित कृषि वस्तुहरुको बजार सुनिश्चितता र उचित मूल्यको लागि बिक्री केन्द्र कोसेढुंगा सावित हुने बताए । ग्रमीण क्षेत्रका किसानलाई व्यवसायिक बनाउने र उनीहरुले उत्पादन गरेका वस्तुहरु केन्द्रमा ल्याएर बिक्री गर्ने उद्देश्यले घरेलु उपज बिक्री केन्द्र सञ्चालनमा ल्याइएको बताए ।

जिल्ला समन्वय समितिका सभापति डल्लाकोटीले महिलालाई उद्यमी बनाउन बिक्री केन्द्रको भवन निर्माण गरिएको बताए । महिलाहरुलाई आत्मनिर्भर बनाउने, घरमा सामग्री उत्पादन गर्न प्रोत्साहन गर्ने लक्ष्यका सात पूर्वी चितवनमै पहिलो बिक्री केन्द्र सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विमला दुवाडी, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, जिल्ला समन्वय समितिका सल्लाहकार समिति संयोजक दीपककुमार कर्माचार्य, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, नगर स्तरीय दुग्ध उत्पादक संघका अध्यक्ष किशोर बगाले लगायतले मन्तव्य राखेका थिए । प्रदेश सरकारको ३० लाखको लगानीमा एक तले भवन निर्माण गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>