समाचार
पहिरोमा पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

पोखरा, भदौं १८-
अविरल वर्षाका कारण गएको पहिरोबाट पर्वतमा ५ जनाको मृत्यु भएको छ ।
पहिरो जाँदा कुश्मा नगरपालिका ३ जना दुर्लुङमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाँउपालिका ५ अम्बोटमा एक जनाको मृत्यु भएको हो । पहिरोमा परेर ५ जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।
दुर्लुङमा पहिरो जाँदा ५ जना पुरिएकामा २ जना मृत अवस्थामा फेला परेका छन् भने तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएका घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको घर भत्किँदा बेपत्ता अन्य ३ जनाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
त्यसैगरी सिल्मीमा मनिलाल पौडेलको घरमा आएको पहिरोले पुरिएर पाहुना आएका मोदी गाउँपालिका ७ राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उनका छोरा ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ ।
त्यसैगरी, मोदी गाउँपालिका,अम्बोटमा पहिरोले घर पुर्दा फुलमाया थापाको मृत्यु भएको छ । राती पहिरोले पुरेर बेपत्ता भएकी उनको शब फेला पारिएको प्रहरीले जनाइएको छ ।

























