प्रवास
एनआरएनएको अध्यक्षमा तीन जनाले उम्मेदवारीको घोषणा

काठमाडौँ, भदौ १७–
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन् ।
अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को आयोजनामा महाधिवेशन यही अक्टोबरमा हुन लागेकोले उनीहरुले उम्मेदवारी दिन लागेका हुन् ।
उक्त महाधिवेशनको अध्यक्ष पदमा रबिना थापा, बद्री केसी र कुल आचार्य गरी तीन जनाको उम्मेदवारी रहने छ । त्यस्तै अध्यक्ष पदमा उम्मेदवारी दिएका थापा र आचार्य प्रजातान्त्रिक समूह र केसी नेकपा एमाले केपी ओली समूहमा आवद्ध छन् ।
अमेरिका निवासी थापा विगत २०१९ –२०२१ को आईसीसी अध्यक्ष समेत रहेका थिइन् । त्यसअघि उनी २०१५ –२०१७ सम्म अमेरिकाको एनसीसीको उपाध्यक्ष थिइन् । युवा र महिलाको साथ र समर्थनबारे काम गर्दै आएकी थापासँग यस संस्थाबारे राम्रो अनुभव रहेको छ । विश्वभर रहेका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफू सक्षम र योग्य भएकोले यो उम्मेदवार दिएको थापा बताउँछिन ।
विभिन्न देशका प्रतिनिधिबाट समर्थन
‘महिलालाई अगाडि लैजाने विषय कार्यान्वयन भएन तर रबिनामा सबैलाई मिलाएर लैजान क्षमता रहेको २०२१ –०२३ आईसीसीका सचिव शंकर खड्का बताउँछन् । त्यस्तै महिलालाई अगाडि बढ् भन्ने तर अगाडि बढ्न खोज्दा खुट्टा तान्ने प्रवृत्ति हटाउनु पर्ने उनको भनाइ छ ।
यसैगरी रबिना एक सक्षम योग्य महिला भएकाले उनलाई सबैले सहयोग गर्नुपर्ने २०२१ –०२३ का आईसीसीका महासचिव विनय अधिकारीले बताए । उनी भन्छन, ‘ एनआरएनमा महिला नेतृत्वको विषय भाषणमा मात्र सिमित भएको छ त्यसैले थापालाई गुमाउनु हुदैन ।’
























