Breaking News
कांग्रेस चितवनमा महाधिवेशनको सरगर्मी, सबै वडा अधिवेशन भदौं २१ गते

चितवन, भदौं १६-
नेपाली कांगेस चितवनमा चुनावी सरगर्मी बढेको छ ।
वडादेखि केन्द्रसम्म उम्मेदरवारका आकांक्षीहरुले घोषणापत्रसहित सामाजिक सञ्जालमा प्रचार प्रसारको काम तीव्र बनाएसँगै चुनावी सरगर्मी बढेको हो ।
हरेक दिन एकपछि अर्काे उम्मेदवारी घोषणा भइरहेको छ । चितवनमा अहिलेसम्मको प्रारम्भिक अवस्थालाई हेर्दा यसअघिका अधिवेशनहरु भन्दा बढी उम्मेदरवारहरुको बीचमा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । चितवनका राजनीतिक विश्लेषकहरु अन्तिम समयसम्म पनि कम्तिमा तीन जनाको उम्मेदवारी सबै तहमा रहने दाबी गर्छन् ।
उम्मेदवारी घोषणाको आधारमा हेर्दा कांग्रेस चितवनको सभापतिमा उत्तम जोशी, डा. सूर्यकान्त घिमिरे, कैलाश कोइराला, मिलनबाबु श्रेष्ठ, विजय भुसाल, राजेश्वर खनाल र राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी दिने बताएका छन् । त्यसैगरी सचिवमा भरतप्रसाद दवाडी, सूर्य अर्याल, सूर्य ढकाल, नविन पौडेल, ध्रुव पोखरेल, आनन्द राउत, निर्मलराज पौडेलले उम्मेदवारीको घोषणा गरिसकेका छन् । उम्मेदवारहरुको व्यक्तित्वलाई हेर्दा निकै अग्रज राजनीतिक व्यक्तित्वदेखि भर्खरका युवाहरु पनि विभिन्न पदमा आकांक्षी छन् । अहिले उम्मेदवार घोषणा गर्ने मध्ये कुन नेता कुन गुटको भन्ने स्पष्ट मार्गचित्र चितवन कांग्रेसमा देखिइसकेको छैन ।
जिल्लाका वडा तहमा पनि कांग्रेसका उम्मेदवारका आकांक्षीहरुको एकपछि अर्काे घोषणा भइरहेको छ । नयाँ क्रियाशिल सदस्यहरुले पनि वडा तहमा उम्मेदवारी दिन पाउने कांग्रेसको विद्यानमा उल्लेख गरिएको छ । नेपाली कांग्रेस चितवनको केन्द्रीय निर्वाचन प्रतिनिधि कमलमोहन पोख्रेल उपस्थितिमा आज सम्पन्न जिल्ला कार्यसमितिको बैठकले चितवनका सबै नगरपालिका र गाउँपालिकाको ९८ वटै वडाका अधिवेशन भदौं २१ गते सम्पन्न गर्ने निर्णय गरेको कांग्रेस सभापति जितनारायण श्रेष्ठले नारायणी अनलाइनलाई जानकारी दिए । उनले अहिले आफूहरु प्रतिनिधिहरु वडा वडामा पठाउने काममा व्यस्त रहेको बताए ।
चितवनमा पुरानो क्रियाशिल सदस्य १७ हजार १५० जना रहेका थिए । नयाँ थपिएसँगै चितवनमा कांग्रेस क्रियाशिल सदस्यको संख्या २७ हजार ८५० पुगेको छ । चितवन क्षेत्र नम्बर १ मा आठ हजार ७००, क्षेत्र नम्बर २ मा नौ हजार २४८ जना र क्षेत्र नम्बर ३ मा नौं हजार ८९८ जना क्रियाशिल सदस्य रहेका छन् । क्रियाशिल सदस्यता वितरणमा भने चितवनमा कुनै विवाद नरहेको कांग्रेस चितवनले जनाएको छ । पार्टीका विभिन्न पदमा धेरैले आकांक्षा राखे पनि उम्मेदवारी मनोनयन नभएसम्म उम्मेदवारको ग्यारेन्टी नहुने बताइएको छ ।
























