चितवन विशेष
चितवनकी मदन पुरस्कार विजेता लेखिका राधा पौडेलको संस्मरण ‘रोल नम्बर एक’ बजारमा

चितवन, भदौं १६-
चितवनकी मदन पुरस्कार विजेता लेखिका तथा मर्यादित महिनावारीकी सामाजिक अभियन्ता राधा पौडेलको बाल्यकालीन संस्मरण ‘रोल नम्बर एक’ प्रकाशित भएको छ ।
‘रोल नम्बर एक’ समाजमा व्याप्त अन्धविश्वासको भूमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पीडाको पेटारो हो। बाल्यकालमा अब्बल बन्ने र छोरीहरुलाई हेर्ने हेयात्मक दृष्टि बदल्ने लेखकको सपनाले सृजना गरेका परिदृश्य नै यस पुस्तकमा समेटिएको छ । प्रकाशकका अनुसार महिला र पुरुषबीच समानताको चाहले बाल्यकालमै अंकुरित विद्रोहको स्वर किशोरावस्थासम्म पुग्दा कसरी झांगियो, पौडेलको बाल्कालीन संस्मरण त्यसैको नालीबेली हो।
भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा जन्मिएकी लेखिका तथा साहित्यकार पौडेलले एसएलसीसम्मको शिक्षा प्रेमबस्ती उच्च माविबाट र बीएड भरतपुरकै सप्तगण्डकी बहुमुखी क्याम्पसबाट गरेकी हुन् । उनी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेकी छन्। ‘खलङ्गामा हमला’ पुस्तकका लागि उनले मदन पुरस्कार पनि प्राप्त गरेकी थिइन् । मर्यादित र सुरक्षित महिनावारीका विषयमा उनका तीन पुस्तक प्रकाशित भइसकेका छन् भने ‘रोल नम्बर एक’ उनको पहिलो बाल्यकालीन संस्मरण हो।
‘यस पुस्तकले नेपाली महिलाहरुको समान र सम्मानपूर्वक बाँच्ने चाहको संघर्षका बारेमा हामी सबैलाई बोध त गराउँछ नै, आज पनि बालिकाहरुले विभेदसँग झुत्ती खेल्दै बाँच्नुपरेको कुरालाई पनि सम्झाउँछ । यस पुस्तकले लेखकका बाल्यकालिन संस्मरणका माध्यमबाट नेपाली समाजमा छोरीहरुको समान र सम्मानपूवक बाँच्ने अधिकारका लागि पैरवी गर्न हामी सबैलाई प्रेरित गर्नेछ,’ प्रकाशक सांग्रिला बुक्सले भनेको छ। सांग्रिला बुक्सले प्रकाशन गरेको ‘रोल नम्बर एक’ को मूल्य २७५ रुपैयाँ रहेको छ।























