चितवन विशेष

चितवनमा कांग्रेसका ४५ जना जेष्ठ राजनीतिज्ञ सभाका सदस्यहरु सम्मानित

Banner

चितवन, भदौ १३–

नेपाली कांग्रेसले राजनीतिमा लामो समयसम्म योगदान दिएका पुराना नेताहरुलाई सम्मान गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको जेष्ठ राजनीतिज्ञ सभामा मनोनित भएका जेष्ठ राजनीतिज्ञ सभा सदस्यहरुलाई चितवनमा आइतबार सम्मान गरिएको हो ।

चितवनबाट मनोनित भएका ४५ जना जेष्ठ नेताहरुलाई कांग्रेस केन्द्रीय समितिले पठाएको जेष्ठ राजनीतिज्ञ सभा सदस्यको प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको हो । चितवनका मनोनति सदस्यहरुलाई सम्मान गर्ने जिम्मेवारी पाएका पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, संविधान सभा सदस्य अञ्जनी श्रेष्ठ, कांग्रेस चितवनका सचिव उत्तम जोशी र नेता प्रकाश अधिकारीले उनीहरुलाई सम्मान गरे ।

सो क्रममा बोल्दै पूर्वराज्यमन्त्री शेषनाथ अधिकारीले २०७७ साउन १४ गते नै प्रमाण पत्र वितरण गर्ने तय भए पनि विविध कारणबस ढिलाइ भएको बताए । सभापति देउवा आफैले सबैलाई राखेर सम्मान गर्ने सोँच बनाए पनि विभिन्न परिस्थितिका कारण हुने नसकेकाले आफूलाई सम्मान गर्न जिम्मेवारी सुम्पिएको बताए ।

कार्यक्रममा आफै उपस्थिति भएका जेष्ठ राजनीतिज्ञ सभा सदस्य र उनीहरुका आफन्तलाई प्रमाण पत्र प्रदान र दोसल्ला प्रदान गरिएको थियो । प्रमाण पत्रमा लेखिएको छ–‘नेपालको लोकतान्त्रिक आन्दोलनमा दुःख कष्ठ सहेर अत्यन्त कठिन र प्रतिकूल समयमा समेत राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्षमा अविच्छिन्न संलग्न भई तपाइले गर्नुभएको योगदान इतिहासमा चिरन्तरन रहिरहने छ ।

नेपाली कांग्रेसको झण्डामा गोलबद्ध भएर परिवर्तनका हरेक लोकतान्त्रिक आयाममा सक्रिय हुँदा धेरै अग्रज र साथीहरु सहिद हुनुभयो, धेरैले घरबार तथा श्रीसम्पति गुमाउनु भयो र धेरै विस्थापित समेत हुनुभयो, तथापी यहाँहरु जस्ता प्रतिवद्ध र समर्पित योद्धाको निरन्तर सहयात्राले नेपाली कांग्रेस पार्टी जीवन्त छ । नेपालको हरेक लोकतान्त्रि आन्दोलनमा नेपाली कांग्रेस राजनीतिक परिवर्तनको नेतृत्व गर्न सफल भएको छ । तपाईको यही निष्ठापूर्ण योगदानलाई कदर गर्दै नेपाली कांग्रेसको नियमावली २०७६को नियम ५० बमोजिम पार्टीका तर्फबाट जेष्ठ राजनीतिज्ञ सभामा मनोनयन गरी श्रद्धा र उच्च सम्मानका साथ जेष्ठ राजनीतिज्ञ सभा सदस्यको प्रमाणपत्र प्रदान गरिएको छ ।’

कार्यक्रममा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, संविधान सभा सदस्य अञ्जनी श्रेष्ठ, कांग्रेस चितवनका सचिव उत्तम जोशी र नेता प्रकाश अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>