Breaking News
चोरी शून्यमा झरेपछि चितवनमा विद्युत् चुहावट घट्यो

चितवन, भदौं १२-
प्रविधिमा सुधार गर्दै चोरीलाई नियन्त्रण गरेपछि चितवनको विद्युत् चुहावट कम हुँदै गएको छ ।
चितवनका तीन विधुत् वितरण केन्द्र भरतपुर, चनौली र टाँडी वितरण केन्द्रमा चुहावट घट्दै गएको पाइएको हो ।
नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनको टाँडी विद्युत् वितरण केन्द्रको विद्युत् चुहावट १२.७७ प्रतिशतमा झरेको छ । सो केन्द्रमा आव ०७६÷०७७ मा १६.५३ प्रतिशत चुहावट भएको थियो । टाँडीको चुहावट १२.५० प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । यसैगरी भरतपुर वितरण केन्द्रमा पनि विद्युत् चुहावट दर घटेको छ । गत आव ५.४८ प्रतिशतमा विद्युत् चुहावट झरेको छ।
त्यसैगरी चितवनकै चनौली विद्युत् वितरण केन्द्रमा पनि विद्युत् चुहावट कम भएको बताइएको छ । अघिल्लो आव २०७६÷०७७ मा १६.३६ प्रतिशत चुहावट रहेकामा गत वर्ष १४.५१ प्रतिशतमा पुगेको छ । त्यहाँको विद्युत् चुहावट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले प्रविधिमा अपग्रेड हुँदै गएकोले चितवनमा विद्युत् चुहावटमा कमी आउँदै गएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ चितवनमा प्राधिकरणले नागरिकको माग अनुसार बिजुली उपलब्ध गराएको छ । हामीले मसिनो तारलाई हटाएर मोटो तार प्रयोग गर्दै प्रविधिमा अपग्रेड गर्दै गएका छौं । विद्युत् चोरीलाई शून्यमा झारेकोले पनि चुहावट नियन्त्रणमा सफलता मिल्दै गएको छ ।’
वाग्मती प्रदेशमा आर्थिक वर्ष २०७६÷०७७ मा कार्यालयअन्तर्गत डिभिजन कार्यालयको विद्युत् चुहावट ८.०८ प्रतिशत रहेकामा गत आव २०७७÷०७८ मा ७.७२ प्रतिशतमा झरेको छ । कार्यालयले लिएको ६.३७ प्रतिशत चुहावट कम गर्ने लक्ष्य भने हासिल हुन सकेन ।























