चितवन विशेष
भरतपुरमा स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्रको एकैदिन शिलान्यास

चितवन, भदौं १२-
भरतपुर महानगरपालिका वडा नं. २९ मा कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरिएको छ ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आज एकैदिन ती दुई स्वास्थ्य संस्थाको शिलान्यास गरेकी हुन् ।
शिलान्यासपछि दाहालले विकास निर्माणमा कोही कसैले राजनीति गर्न नहुने भन्दै सबैको सामूहिक साथ र सहयोगबाट मात्र उपलब्धि हासिल गर्न सकिने बताएकी छन् । वडा नं. २९ मा कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्रको भवन लामो प्रयासपछि शिलान्यास गर्न सफल भएको भन्दै उनले तोकिएको समयमा गुणस्तरीय निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा सञ्चालन गर्न आग्रह गरिन् । उनले भरतपुरको हिल स्टेसनको रूपमा परिचय बनाउँदैं गएको रमणिय पहाडी भूगोल समेटिएको वडा नं. २९ को विकासमा आफू सधैं केन्द्रित रहेको उल्लेख गरिन् । उनले यस क्षेत्रका बाटोघाटो निर्माण, शुद्ध पिउनेपानी, सिंचाइँका साथै शिक्षा स्वास्थ्य, कृषि र पर्यटन विकासका क्षेत्रमा उल्लेख्य कामहरू भइरहेको बताइन् ।
सोही अवसरमा प्रमुख दाहालले ‘एक वडा, एक स्वास्थ केन्द्र’ निर्माण तथा सञ्चालन गर्दै आएको बताउँदै आवश्यकताका आधारमा यसको संख्या थपिदै जाने बताइन् । वडा न. २९ को भूभाग सम्वेदनशिल तथा जोखिम प्रकृतिको रहेको भन्दै उनले सोही बमोजिम यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिइन् ।
‘भरतपुर महानगरपालिकामा जनप्रतिनिधिको रूपमा आएसँगै आत्मनिर्भर र योजनाबद्ध विकासको लागि दृढताका साथ लागिपरेको छु’, उनले भनिन्, ‘यही दृढ इच्छा शक्तिका कारण भरतपुर एक हेर्न लायकको सहर बनिरहेको छ ।’ उनले विकासमा कोही कसैले राजनीति गर्न नहुने भन्दै सबैको सामूहिक साथ र सहयोगबाट मात्र उपलब्धि हासिल गर्न सकिने उल्लेख गरिन् ।
कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले निर्माणाधिन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरीय ढंगले निर्माण कार्य अगाडि बढाउन आग्रह गरिन् । भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भोजराज खतिवडाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने विश्वास व्यक्त गरे
स्वास्थ्य केन्द्र भवनको शिलान्यास कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडा इन्चार्ज गोपाल कुँवर, भरतपुरमहानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख दिपक सुवेदीलगायतले आ– आफ्नो धारणा राखेका थिए । ६९ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको कबिलास स्वास्थ्य केन्द्र चार कोठाको हुनेछ भने पुस मसान्त भित्र निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा आउनेछ । शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मानबहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
























