चितवन विशेष
रेडियो देवघाटको अनलाइन भर्चुअल पत्रकारिता तालिम सकियो

देवघाट, भदौं १२
सगरमाथा सञ्चार सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो देवघाटको आयोजनामा पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
१० दिनसम्म चलेको प्रशिक्षणमा सञ्चार क्षेत्रमा क्रियाशिल पत्रकार एवम् सप्तण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक मधुसूदन दवाडी, क्रियाशिल पत्रकारहरु राजु सापकोटा, प्रदिप घिमिरे, डोलराज रानभाट, माधव सापकोटा, विवेक पोखरेल, भूपराज पाठकलगायतले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले सम्पूर्णलाई पत्रकारिता क्षेत्रमा लाग्न सुझाव दिए । उनले व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजमा सकारात्मक परिवर्तन आउने विश्वास ब्यक्त गरे । साथै थापाले पत्रकार महासंघको समन्वयमा विभिन्न कार्यक्रम गरिने जानकारी दिए । यसैगरी विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ चितवन अध्यक्ष नारायणप्रसाद अधिकारीले क्रियाशिल रुपमा पत्रकारिता क्षेत्रमा लाग्न सबैलाई सुझाव दिए । पत्रकारिता क्षेत्रमा प्रवेश गर्न खोजेकालाई नेपाल पत्रकार महासंघ चितवनले सहयोग गर्नेमा अधिकारीले जोड दिए । पत्रकारिता क्षेत्र देशको चौथो अंगकोरुपमा रहेको र क्षमतावान पत्रकार बन्न नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार तिलकराम रिमालले आग्रह गरे । सामुदायिक रेडियो देवघाटका महासचिव निरञ्जन हाडाले यस तालिमबाट पत्रकारहरु तयार हुने बताए । तालिमले नेतृत्व तथा ब्यक्तित्व विकासमा समेत सहयोग पु¥याउने हाडाको विश्वास थियो ।
सामुदायिक रेडियो देवघाटका स्टेशन म्यानेजर सुवास लामिछानेले सहजीकरण गरेको कार्यक्रममा रेडियोका बजार ब्यवस्थापक गोपाल न्यौपाने, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) एमाले चितवन जिल्ला सदस्य विमल केसीलगायत अतिथि रहेका थिए । समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र दिइएको छ । तालिममा १३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
























