Breaking News

चितवनको दासढुंगामा मदन-आश्रित मेमोरियल पार्कको डीपीआर बन्दै, ३६ करोड लगानी गरिने

Banner

चितवन, भदौं १२-

भरतपुर महानगरपालिका –२९ दासढुंगा क्षेत्रमा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा निर्माण गरिने अन्र्तराष्ट्रियस्तरको पार्कको डीपीआर बन्दै छ ।

प्रदेश सरकार, संघीय सरकार, स्थानीय सरकार र निजीरुपमा ३६ करोड रुपैयाँ लगानी गर्ने गरी पार्कको डीपीआर बन्न लागेको हो । पार्क निर्माणको लागि वाग्मती प्रदेश सरकारले केही बजेट छुट्याएको छ । डीपीआर निर्माणको लागि आवश्यक बजेट पर्यटन विभागले खर्च गर्ने मदन–आश्रित स्मृति प्रतिष्ठान दासढुंगा शाखाका अध्यक्ष प्रदेश सांसद विजयी सुवेदीले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘मदन–आश्रितको विचारको बारेमा अध्ययन अनुसन्धान गर्ने स्थलको रुपमा गुरुयोजना नै निर्माण गरेर अन्तराष्ट्रिय स्तरको मेमोरियल पार्क बनाउन लागेका छौं । डीपीआरबारे छलफल र अन्तरक्रिया भइरहेको छ । सबैको सुझावलाई समेटेर यसलाई हामी फाइनल गर्नेछौं । ’

अध्यक्ष सुवेदीले जानकारी दिए अनुसार पार्कमा अनुसन्धान, सङ्ग्रहालय र रिक्रिएशन स्थलहरु रहनेछन् । पार्क निर्माणको लागि जम्मा १२ बिघा क्षेत्रफलको जग्गा आवश्यक पर्छ । एक बिघा १२ गठ्ठा जग्गा प्रतिष्ठानले किनिसकेको छ भने १४ गठ्ठा जग्गा त्यस क्षेत्रमा ओइलेनी रहेको छ । केही व्यक्तिको नामका जग्गाहरु रहेका छन् ।

डीपीआरलाई अन्तिम रुप दिन शुक्रबार दासढुंगा मेमोरियल पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को बारेमा काठमाडांै भृकुटी मण्डपमा रहेको पर्यटन विभागको शभाकक्षमा अन्तरक्रिया भएको थियो । मदनआश्रित स्मृति प्रतिष्ठान दासढुंगाका अध्यक्ष प्रदेश सांसद सुवेदीको संयोजनमा भएको कार्यक्रममा मानवअधिकारवादी नेता शुसिल प्याकुरेल, मदन–आश्रित प्रतिष्ठान केन्द्रका अध्यक्ष गुरु बराल, पर्यटन विभागका प्रमुख रुद्रसिङ तमाङलगायत विभागका इन्जिनियरहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा.तिलचन्द्र भट्टराई, जीवराज आश्रितका सुपुत्र डा. सागर न्यौपाने, इञ्जिनियरहरु कुमार धमला र अभिषेख यादव तथा केशव रेग्मीलगायतको सहभागिता थियो ।

दासढुंगा क्षेत्रमा जग्गाको खण्डीकरण हुँदै गएकोले समयमा नै यथेष्ट जमिन लिएर पार्क बनाउनुपर्ने आवश्यकता परेको प्रतिष्ठानले जनाएको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको कार दासढुंगामा दुर्घटना भएकोले यस ठाउँ नेपालमा चर्चित बनेको हो । देशमा दासढुंगा काण्ड भएको २८ वर्ष पूरा भएको छ । तर, यो घटना एउटा दुर्घटना थियो कि षडयन्त्र ? अझै छिनोफानो भएको छैन । २०५० साल जेठ ३ गते पोखराबाट चितवनको पार्टीको कार्यक्रममा जाँदाजाँदै नेताद्वयको दासढुंगामा रहस्यमय अवसान भएको थियो । अहिले पनि एमालेका नेता तथा कार्यकर्ताहरुले दासढुंगालाई श्रद्धापूर्वक लिने गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>