स्वास्थ्य

दुर्घटना न्यूनीकरण गर्न सडकमै चालकको आँखा र रक्तचाप जाँच

Banner

लहान, भदौ १०  –

राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सडकमै सवारी चालकको आँखा र रक्तचाप जाँच्न थालेको छ । सप्तरी जिल्ला ट्राफिक कार्यालय र रुपनीस्थित प्रदेश २को प्रहरी अस्पतालले संयुक्तरूपमा पूर्व–पश्चिम राजमार्गमा चल्ने निजी तथा सार्वजनिक सवारी साधानका चालकको सडकमै आँखा र रक्तचाप जाँच गर्न थालेका हुन् ।

यही भदौ ७ गतेदेखि शिविर राखी १६८ चालकको आँखा र रक्तचाप जाँच गरिएको अस्पतालका प्रहरी निरीक्षक डा धर्मप्रताप भरखेरले जानकारी दिनुभयो । जाँच गरिएकामध्ये थोरैमा मात्र आँखा सम्बन्धी समस्या देखिएको उहाँको भनाइ थियो । यस्तै १० प्रतिशतमा मात्र उच्च रक्तचाप देखिएको र तीमध्ये पाँच प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ । लामो दूरीका सवारी चालकमा बाटोमै निदाउने, स्वास्थ्य बिग्रिनेजस्ता समस्या देखिएकाले उनीहरूलाई थप उपचार गराउन सुझाव दिइएको थियो ।

दुर्घटनाका विविध कारणमध्ये चालकका आँखाको दृष्टि कमजोर र अन्य स्वास्थ्य समस्याका कारण पनि रहेकोे जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक कैलाशबहादुर भट्टराईले जानकारी दिनुभयो । ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत आयोजना गरिएको उक्त शिविरमा चालकलाई आँखा, रक्तचाप, बढ्दो सवारी दुर्घटना र सहजरूपमा गाडी चलाउनेबारे जानकारी दिइएको थियो ।

जाँच पछि सवारी दुर्घटना हुनाका कारण र न्यूनीकरणका उपायबारे अन्तक्र्रिया गर्दा चालकबाट सडकको दुराव्यवस्था, ट्राफिक नियम विपरीत ठूलो लाइनको प्रयोग, गलत किसिमले बत्ती बाल्ने, युवाले लागुऔषध सेवन गरी सवारी चलाउनेजस्ता कारणले दुर्घटना बढेको सुझाब आएको उहाँले बताउनुभयो

दैनिक भत्तामा काम गर्ने टिपरका चालकले बढी कमाउने लोभमा तीव्र गतिमा चलाउने र साना सवारी साधनले गलत साइडबाट उछिन्ने गर्दा पनि दुर्घटना बढ्ने गरेकोजस्ता सुझाव आएको र यसलाई आधार बनाएर दुर्घटना न्यूनीकरणका लागि योजना बनाइने प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।
शिविर दुई दिनसम्म मात्र राखिएकामा चालकको सुझावअनुसार थप दुई दिन लम्ब्याइएको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>