खैरहनी

चितवनका किसानको धानबालीमा रोग र कीराको प्रकोप

Banner

चितवन,भदौ १०-

चितवनका किसानले वर्षामा लगाएको धानमा रोग र कीराको प्रकोप देखिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार धानबालीमा पातको फेद डडुवा (शिथ ब्लाइट) र गवारोको प्रकोप देखिएको हो ।

पूवी चितवनको खैरहनी नगरपालिका, राप्ती नगरपालिका र रत्ननगर नगरपालिकाका किसानले लगाएको अधिकांश धानबालीमा पातको फेद डडुवा र गवारोको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । रोग र कीराको प्रकोप देखिएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय नगरपालिकाका कृषि शाखा प्रमुखहरूको टोलीले फिल्ड अनुगमन गरेको छ । अनुगमन गर्दा किसानले लगाएको अधिकांश धानबालीमा पातको फेदमा डडुवा र गवारोको प्रकोप देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ चितवनका कृषि अधिकृत एवं सूचना अधिकारी माधव पौडेलले जानकारी दिए ।

‘पूर्वी चितवनमा धान लगाइएको झन्डै २ महीना पुग्न लाग्यो,’ पौडेलले भने, ‘त्यहाँ अधिकांश क्षेत्रमा यो समस्या भएको पायौं ।’ अनुगमनपछि किसानलाई सही विषादी उपयुक्त परिमाणमा छर्न सुझाव दिइएको उनले बताए । मेशिनबाट लगाइएको धानबाली एउटै लाइनमा रहेको र हावा राम्रोसँग खेल्ने भएकाले हालसम्म रोग र कीराको प्रकोप नदेखिएको उनको भनाइ छ । गएको वर्ष पनि यी नै रोगका कारण धान उत्पादनमा करीब १५ प्रतिशतले कमी आएको उनले बताए । अरू पालिकाबाट पनि किसानहरूको गुनासो धेरै आएको छ । उनका अनुसार केही दिनभित्र दोस्रो चरणमा किसानको गुनासो पाएको पालिकाको स्थलगत अनुगमन गर्ने योजना रहेको छ ।

यता, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले गवाराको कारण धान उत्पादनमा ह्रास आउँछ भनेर अहिले नै भन्न नसकिने बताए । यो समय धानमा अन्य समस्या समेत देखिने भएकाले किसान सचेत रहनुपर्ने उनको भनाइ छ । किसानले भने धानबालीमा देखिएको विभिन्न प्रकोपका कारण धानमा ठूलै क्षति बेहोर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । राप्ती नगरपालिकाका किसान अगुवा धर्मराज कँडेल हरेक वर्ष रोग र कीराको प्रकोप देखिने बताउँछन् । निषेधाज्ञाका कारण महँगोमा मलखाद किनेर रोपेको धान विभिन्न प्रकारको रोगका कारण डढ्न थालेपछि चिन्तित बनेका हुन् । समयमै वर्षा हुँदा धान रोपाइँ राम्रो भए पनि अहिले आएर किसानलाई विभिन्न प्रकारको रोगले चिन्तामा पारेको हो ।

यति बेला धान गाँज हाल्ने बेला भएकाले किसानहरू आत्तिइहाल्नु नपर्ने कृषि प्राविधिकहरूको भनाइ छ । तर, सचेत भने हुनुपर्नेछ । गवारो लागेपछि धानको बोट गुभामा कुहिने, रातो हुने गर्छ । चितवनमा बर्खे धान २३ हजार हेक्टर क्षेत्रफल र चैते धान ७ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>