Breaking News

२ अरबको लगानीमा १४ तले ‘भरतपुर मेट्रो प्लाजा’ बन्दै, प्रचण्डले गरे शिलान्यास

Banner

चितवन, भदौ ९–

चितवनको भरतपुरमा सुविधा सम्पन्न भरतपुर मेट्रो प्लाजा बहुउद्दृेश्य भवन निर्माण हुने भएको छ । प्लाजाको आज (बुधबार) भरतपुर–३ स्थित लायन्सचोकमा पूर्वप्रधानमन्त्री एवंम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका छन् ।

सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम भरतपुर महानगरपालिका र आर्या विल्डर्स इन्जिनियरिङ प्रा.लि.बीच परियोजना निर्माण गर्ने सम्झौता भएपछि आज भरतपुर मेट्रो प्लाजाको शिलान्यास गरिएको हो । करिव २ अर्ब लागत रहेको यस प्लाजामा ३ तले पार्किङसहितको १४ तलाको बन्ने आर्या विल्डर्सका संचालक जीवन कंडेलले जानकारी दिए । उनले निर्धारित अवधि ३ वर्ष भित्रमा प्लाजा निर्माण सम्पन्न गर्ने प्रतिवद्धना जनाए । राजधानी पछि देशकै पहिलो पीपीपी मोडलमा सुविधासम्पन्न प्लाजा निर्माण हुन लागेको भन्दै उनले देशकै गौरव गर्न लायक निर्माण गरिने बताए ।

उनका अनुसार यस प्लाजामा पाँच तारे होटलदेखि सपिङ मललगायतका सुविधा रहने छ । जसभित्र फिल्म हलको समेत सुविधा रहेको छ । १४ तला मध्ये ३ तला पार्किङको सुविधा रहेको कँडेलले बताए । २ तला चार पाङग्रे र एउटा दुई पाङग्रे सवारीका लागि पार्किङ क्षेत्र छुट्याइएको उनले बताए ।

यस प्लाजा निर्माण गरिएसंगै कम्पनीले भरतपुर महानगरपालिकालाई ३० वर्ष भित्रमा ८२ करोड रुपैयाँ राजश्व बुझाउने छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चितवनको विकासका लागि यस प्लाजा कोशेढुंगा सावित हुने बताइन् । उनले लामो छलफल र मेहनत पश्चात परियोजना अगाडि बढाउने विषय टुंगो लागेको बताइन् । यस्तै उपप्रमुख पार्वती शाह ठकुरीले महिलाले नेतृत्वको गरेको देशकै एक मात्र महानगरपालिका भरतपुरमा विकासले तिव्रता पाएको बताइन् । उनले भरतपुर मेट्रो प्लाजा त्यसकै उदाहरण रहेको बताइन् ।

यस्तै भरतपुर महानगरपालिकाका इन्जिनियर भरत आचार्यलले स्थानीय सरकारको खर्च बेगर नै ठूलो परियोजना निर्माण हुन लागेको भन्दै यो भरतपुरको गौरवको आयोजना रहेको बताए । उनले २०७६ मंसिर २ गते भएको महानगरको बैठकले भरतपुर मेट्रो प्लाजा बनाउने निर्णय भएको जानकारी गराउँदै छोटो अवधिमै निर्माणको प्रक्रिया टुंगो लागेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>