Breaking News
चितवनमा भारतीय केरा बिक्री वितरणमा व्यवसायीको रोक, स्थानीय उत्पादनलाई प्राथमिकता दिइने

चितवन, भदौ ३-
चितवनका व्यवसायीले जिल्लामा उत्पादित केरा रहेसम्म भारतीय केराको आयात तथा बिक्री वितरण नगर्ने भएका छन् ।
महानगर फलफूल तथा तरकारी बजारमा आज भएको एक कार्यक्रममा केरा उत्पादक कृषक र केरा बजारीकरणसँग सम्बन्धित व्यवसायीबीच यस्तो समझदारी भएको हो ।
चितवनमा उत्पादित केरा बिक्री नभएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई चितवनको पहलमा कृषक र व्यवसायीबीच जिल्लामा उत्पादित केरा रहेसम्म बाहिरी मुलुकबाट केरा आयात नगर्ने समझदारी भएको परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए । साथै उनका अनुसार, केरा उत्पादक कृषक तथा व्यवसायीहरुले महानगर फलफूल तथा तरकारी बजारको माग भएसम्म अन्य जिल्लामा समेत नपठाउने समझदारी गरेका छन् ।
चितवनमा वार्षिक ५३ हजार मेक्ट्रिक टन केरा उत्पादन हुने गरेको छ । केराको सिजनको समयमा यहाँ उत्पादित मध्ये २५ प्रतिशत मात्रै जिल्लामा खपत हुने गर्दछ । बाँकी उत्पादन जिल्ला बाहिर नै किसानहरुले पठाउने गरेका छन् । जेठ, असार, साउन र भदौ महिना सम्मलाई यहाँको उत्पादनले धान्ने गरेको महानगर फलफूल तथा तरकारी बजारका प्रवन्ध निर्देशक थिरप्रसाद धितालले जानकारी दिए । अन्य समयमा भारतबाट समेत यहाँ केरा आउने गर्दछ । विगतदेखि सकेसम्म चितवनमा उत्पादित वस्तुलाई नै महानगर फलफूल तथा तरकारी बजारले प्राथमिकता दिएर बिक्री वितरण गर्ने गरेको उनले बताए ।
यसैबीच केराको उत्पादन र बजार बिच सहजीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई चितवनका कृषि अधिकृत ढुंगानाको संयोकत्वमा सात सदस्यीय समिति समेत गठन गरिएको छ । सदस्यहरुमा कृषि ज्ञान केन्द्र चितवनका कृषि प्रचार अधिकृत मिनबहादुर पुन, केरा उत्पादक संघ चितवनका निवर्तमान अध्यक्ष घननाथ महतो, पूर्वअध्यक्ष बिष्णुहरि पन्त, केरा व्यवसायी शम्भु अधिकारी, दल बहादुर खनाल र केरा जोन सञ्चालन समन्वय समिति संयोजक रहेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख विनोदकुमार भट्टराई, महानगर फलफूल तथा तरकारी बजारका कार्यबहाक अध्यक्ष मुकुन्दप्रसाद गौतम, प्रवन्ध निर्देशक थीरप्रसाद धिताल, चितवन केरा उत्पादक माधवप्रसाद घिमिरेलगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।






















