Breaking News

चितवनमा बढ्यो घरजग्गाको कारोबार: पोखरालाई उछिन्यो, काठमाडौंलाई पछ्याउँदै

Banner

चितवन, भदौं २-

चितवनका मालपोत कार्यालयहरुमा अत्यधिक भीड देखिएपछि प्रशासनले मंगलबारबाट मालपोतसहित सबै सेवा प्रवाहमा नै रोक लगायो । सबैको ध्यान भने मालपोतको भीड तर्फ नै गएको थियो । गत वर्षको निषेधाज्ञामा चितवनमा घर जग्गाको कारोबार केही कमी आए पनि निषेधाज्ञा खुकुलो भएसँगै साउनमा भने घर जग्गा कारोबार बढेको छ ।

मालपोत कार्यालय भरतपुरका मुद्दा शाखाका खरिदार शेषकान्त अर्यालका अनुसार साउन लागेसँगै घर जग्गाको कारोबार बढेको हो । उनले भने, ‘ वर्षमा एक पटक भन्दा बढी कित्ता काँट गर्न नपाइने भएकोले पनि नयाँ आर्थिक वर्ष लागेसँगै अघिल्लो पटक काटेको कित्ताको किनबेच वा कारोबार अर्काे पटक साउनमा हुने भएकोले पनि काराबोर बढेको हो । ’ भरतपुर मालपोत कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले चोर बाटोबाट मालपोत कार्यालयले कित्ताकाँट ग¥यो भनेर आरोप लाग्ने भए पनि आफूहरुले कागज हेरेर काम गर्ने भएकोले अंशबण्डा भनेर कित्ताकाँट गरेको पनि हुनसक्ने बताए । उनले चितवनमा बढ्दो शहरीकरणको कारणले घर जग्गाको कारोबार बढ्दै गएको नारायणी अनलाइनलाई बताए ।

साउनमा देशभर कूल आठ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन हुँदा रजिष्ट्रेशन दस्तुर मात्रै चार अर्ब ६ करोड रुपैयाँ संकलन भएको छ । जसमा उपत्यकाका पाँच वटा ठूला कार्यालयपछि सबैभन्दा धेरै चितवन मालपोत कार्यालयले २० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चितवनपछि पोखराले १५ करोड, वीरगञ्जले १२ करोड, इटहरी ११ करोड, बुटवल, हेटौडा, धनगढी र नेपालगंजले समेत करिब १०÷१० करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन गरेका छन् । यो तथ्यांकले काठमाडौँका ठूला पाँच कार्यालय पछिको सबैभन्दा धेरै राजश्व चितवनमा नै उठेको देखाउँछ । बढी राजस्व उठ्नुको अर्थ कारोबार बढ्नु नै हो ।

चितवनमा माडी, चनौली, खैरहनी गरी काठमाडौँ पछि चार वटा मालपोत कार्यालयहरु छन् तर भरतपुर मालपोत कार्यालय एक्लैले गत आर्थिक वर्षमा एक अर्ब ४० करोड राजस्व संकलन गरेको छ । जसमध्ये ९८ करोड त रजिष्ट्रेशन शुल्क मात्र छ । साउनमा देशभर ७५ हजार लिखत पारित भएका छन् । असारमा भने देशभर ४८ हजार मात्रै लिखत पारित भएका थिए। साउनमा सबैभन्दा धेरै लिखत पारित गर्ने कार्यालयमा उपत्यकाकै हाराहारीमा चितवनले समान २/२ हजार घरजग्गा किनबेच गरेका छन् ।

ठूला हाउजिङ नहुँदा कारोबार बढ्यो

चितवनका ठूला घरजग्गा व्यवसायीहरुले चितवनमा पोखरा र काठमाडौँमा जस्ता हाउजिङ र अर्पाटमेण्ट नहुनाले घरजग्गाको कारोबार बढेको बताउँछन् । चितवनका घरजग्गा व्यवसायी दिनेशकुमार चुकेले पोखरामा र काठमाडौँमा हाउजिङ र अपार्टमेन्ट हुँदा सबैले घडेरी वा घर किन्नुपर्ने बाध्यता नभएको तर चितवनमा त्यस्तो व्यवस्था नहुँदा घडेर र घर किन्नुपर्ने बाध्यता रहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ चितवनमा बस्न चाहने डाक्टर वा कर्मचारी जो कोहीलाई घडेरीको रुपमा ५०० धुर जग्गा चाहिन्छ भने अपार्टमेन्टको विकास गर्न सके ५० धुरले नै पुग्छ । घरघरमा गार्ड राख्नुपर्ने अवस्था आउँदैन । खर्चको पनि बचत हुन्छ ।’

व्यवासायी चुकेले पोखरा र काठमाडौँमा जस्तो चितवनको महानगरले अपार्टमेन्टको विकासलाई प्रोत्साहन गर्न नसकेको आरोप लगाए । उनले चितवन देशको मध्य भागमा रहेको र राजनीतिकरुपमा चर्चामा आइरहने भएकोले सबैको आकर्षण बढेको बताए । उनले भने, ‘चितवनमा पूर्वाधार र शहरीकरणको तीव्र विकास भएकोले घरजग्गाको कारोबार काठमाडौँ र पोखराको तुलनामा बढ्दै गएको देखिन्छ ।’

चितवनमा भरतपुर र नारायणगढ क्षेत्रको शहरी क्षेत्रमा मात्र घरजग्गाको किनबेच नभएर पश्चिम चितवनको मेघौली, दक्षिणमा माडी र पूर्वमा लोथरसम्म नै घरजग्गाको कारोबार बढ्दै गएको छ । कसैले आवासको लागि त कसैले व्यवसायिक कृषि र उद्योगको लागि जग्गा खरिद गर्दै छन् । पश्चिम चितवनका जग्गा व्यवसायी गणेशबहादुर गुरुङले सुरुको लकडाउनमा घरजग्गाको कारोबार केही रोकिए पनि आजभोलि केही बढ्न थालेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘भरतपुर र नारायणगढको मुख्य व्यापारिक केन्द्रमा जग्गाको मूल्य धेरै महंगो भएकोले पनि जग्गा किन्न चाहनेहरु छेउछाउका क्षेत्रहरुमा किन्नलाई आकर्षित भएका छन् । बजारमा केही धुर जग्गा लिनुभन्दा केही किलोमिटर भित्रका बस्तीहरुमा धेरै जग्गा लिने भन्ने सोच बढ्दै गएको देखिन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>