Breaking News

सैनिक हत्याका अभियुक्त ढकालको मुद्दा सैनिक मुख्यालयले हेर्न चितवन अदालतको आदेश

Banner

चितवन, भदौं १

सैनिक हत्याका अभियुक्त भरतपुर महानगरपालिका–२१ पार्वतीपुर रंगिलाका गंगाधरको मुद्दा सैनिक मुख्यालयले हेर्ने चितवन अदालतले आदेश दिएको छ ।

ढकालको कर्तव्य ज्यान, चोरी, हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा आज थुनछेक बहस गर्दै जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले सो मुद्दा सैनिक मुख्यालयले हेर्ने गरी आदेश सुनाएको हो । ‘दि फेमस महिन्द्र दल गण’ का सिपाही गंगाधर ढकालले आफ्नै गणका हुद्दा भरत गुरुङको हत्या गरेको आरोप छ । साउन ७ गते बिहान भरतपुर–१७ सिमलडाँडामा गोली हानेर सैनिक हुद्दाको हत्या घटनामा तीन वर्षअगाडि भरतपुर ब्यारेकबाट हराएको स्वचालित शट मेसिन गन (एसएमजी) प्रयोग भएको खुलेको थियो ।

भरतपुर–२१ पार्वतीपुर, रंगिलाका ढकाललाई साउन ७ मा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको गण हाल शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ छ । धादिङको नीलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय गुरुङको शव साउन ७ को बिहान भरतपुर–१७ सिमलडाँडामा फेला परेको थियो । घटनाकै दिन प्रहरीले ढकाललाई भरतपुर–२० चनौलीबाट समातेको थियो । ढकाल पक्राउ परेपछि उनको बयानका आधारमा भरतपुर–८ बीसहजारी ताल जाने गेट आडको जंगलको झाडीबाट एसएमजी बरामद भएको थियो ।

एसएमजीमा प्रयोग हुने सात थान गोली पनि प्रहरीले भेटाएको छ । कालीबहादुर गणभन्दा पहिले भरतपुरमा दि फेमस महिन्द्र दल गण बसेको थियो । भरतपुर ब्यारेकका बारेमा जानकार ढकालले कालीबहादुर गण आएर बसे पनि हतियार चोर्न सफल भएका थिए । हत्या घटनाबारे प्रहरीले अनुसन्धान पूरा गरेर दायर मुद्दामा अदालतले आज आदेश सुनाएको हो ।

ढकालले गुरुङको बैंक खाताबाट नौ लाख रुपैयाँ झिकेर श्रीमती र बुबालाई बुझाएको पनि प्रहरी अनुसन्धानमा खुलेको थियो । गुरुङको चेकमा आफैंले दस्तखत गरेर ढकालले बैंकबाट पैसा निकाल्ने गरेका थिए । गुरुङको चेक बोकेर ढकाल साउन २ गते नै चितवन आएका थिए । भोलिपल्ट गुरुङको सही आफैंले गरेर ढकालले बैंकबाट नौ लाख रुपैयाँ निकालेको खुलेको थियो । त्योमध्ये एक लाख आफैंले राखेको, आठ लाख रुपैयाँ परिवारलाई दिएका थिए ।

साउन ५ मा गुरुङले ढकाललाई फोन गरेर आफू जग्गा पास गर्न चितवन आउन लागेको जानकारी गराएका थिए । त्यसपछि गुरुङलाई लिन ढकाल नै मोटरसाइकल लिएर काठमाडौं गएका थिए । ५ गते नै उनीहरू चितवन आएर होटलमा बसेको अनुसन्धानमा पाइएको थियो । गुरुङ भोलिपल्ट मात्रै भरतपुर–१९ शारदानगर टाउनमा रहेको आफन्तको घर गएको र ढकालले आफन्तको घरबाट ६ गते साँझ गुरुङलाई खाजा खान भनेर बोलाएका थिए । त्यसपछि मदिरा सेवन गराएर मोटरसाइकलमा राखेर विभिन्न ठाउँमा रातभर डुलाएपछि घटना भएको ठाउँमा ७ गते बिहान पाँच बजेतिर मात्रै पु¥याएको देखिएको थियो । घटनापछि ढकालले सौराहा चोकमा रहेको फुपूको घर गएर झोला छाडेका थिए । त्यसमा एसएमजीमा प्रयोग हुने सात थान गोली र सेनाको पोसाक थियो । यसअघि ढकाल पश्चिम चितवनको विभिन्न क्षेत्रमा बाख्रा चोरीमा पनि संलग्न रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>