Breaking News
चितवनमा व्यवसायिक पशुपालन कार्यक्रमका लागि झण्डै आठ करोडको बजेट सार्वजनिक

चितवन, साउन ३१-
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले आर्थिक वर्ष २०७८\०७९को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
माछा, पशु तथा पशुपन्छी विकास र पशु स्वास्थ्यका कार्यक्रमलाई लक्षित गर्दै कार्यालयले आज सात करोड ८४ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको चालु बजेट मात्रै सात करोड ४६ लाख ४० हजार रहेको छ । त्यस्तै पूँजिगत बजेट ३७ लाख ९५ हजार रुपैयाँ रहेको कार्यालयका प्रमुख तथा बरिष्ठ पशु चिकित्सक डा.दयाराम चापागाईले जानकारी दिए । उनका अनुसार अनुदानका कार्यक्रम मात्रै साढे पाँच करोड रुपैयाँ बराबरका छन् ।
कार्यालयले यो वर्ष, बाख्रा, गाईभैसी प्रर्वद्धनसँगै यान्त्रीकरणमा पनि जोड दिएको छ । बाख्रा प्रवद्र्धन अन्तगर्त ७५ लाख रुपैयाँ बजेट रहेको चापागाइँले बताए । त्यस्तै, भरतपुर महानगरपालिका–२७ मा भैसी प्रवद्र्धन गर्न १५ लाख, रत्ननगर–२ मा गाईको प्रवद्र्धन गर्न १५ लाख, कबुलियती वन तथा पशु विकास कार्यक्रमका लागि १० लाख, घाँस खेतीको स्रोत केन्द्र स्थापनादेखि प्रवद्र्धनका लागि १९ लाख ६६ हजार रुपैयाँ मन्त्रालयबाट स्वीकृत भएको छ ।
कार्यालयले साना कृषक र मझौला कृषक लक्षित गाईभैसी प्रवद्र्धनको कार्यक्रम पनि राखेको छ । साना कृषक लक्षित गाईभैसी प्रवद्र्धनमा ३५ लाख र मझौला कृषक लक्षित गाईभैसी प्रवद्र्धन कार्यक्रममा ३२ लाख रुपैयाँ बजेट रहेको जनाइएको छ ।

मत्स्य पोखरी क्षेत्र विस्तारका लागि दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मत तथा संम्भारका लागि ३० लाख रुपैयाँ बजेट स्वीकृत भएको कार्यालयले जानकारी दिएको छ । जैविक सुरक्षासहितको खोर, गोठ निर्माण सुधारका लागि ४० लाख रुपैयाँ रकम रहेको जानकारी दिइएको छ ।
यसैगरी पशु स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न ३६ लाख ७९ हजार रुपैयाँ बजेट स्वीकृत भएको छ । ‘संघीय सरकारको समन्वयमा गाईभैसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप कार्यक्रममा २२ लाख रुपैयाँ विनियोजन भएर आएको छ’, चापागाईले भने, ‘पशुपन्छीमा लाग्ने संक्रमक रोग विरुद्धको खोप, बर्डफ्लू नियन्त्रण, इपिडेमियोलोजिकल रिपोर्टिङलगायतका शीर्षकमा १४ लाख ७९ हजार रुपैयाँ छ ।’ चितवन माछा, मासू, अण्डा र दुधमा आत्मनिर्भर रहेको छ । चितवनमा माछापोखरी एक हजार ५००, मत्स्य ह्याचरी १०, माछा दाना उद्योग १, ह्याचरी १०५, दुग्ध उत्पादन सहकारी संस्था १०९, दुग्ध प्रशोधन केन्द्र ८, पशुपन्छी उद्योग २ वटा रहेका छन् ।
कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम सार्वजनीकरण कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पशुपालनका लागि चितवन सम्भावना धेरै रहेको जिल्ला भएकाले किसान र निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्न सुझाव दिए । पशु विकास अधिकृत डा.रामचन्द्र आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारी, साना तथा घरेलु उद्योग कार्यालयका यादव आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख विनोद भट्टराई, कृषि ज्ञान केन्द्र चितवनका प्रसार प्रसार अधिकृत मिनबहादुर पुन, स्थानीय तहका पशु सेवा शाखाका प्रतिनिधि तथा कृषकहरुको सहभागिता रहेको थियो ।






















