Breaking News
खोप केन्द्रसम्म जान नसक्ने नागरिकहरुलाई घरमा गएर खोप लगाउन सर्वाेच्चको आदेश

काठमाडौं, साउन २९
सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लागत संकलन गर्न र घरघरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको हो ।
प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराएका थिए ।
सर्वोच्चको आदेशमा भनिएको छ– ‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर–घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिब समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नु गराउनु ।’
























