Breaking News
चितवनमा कृषि आधुनिकीकरण परियोजनाले पाँच करोड बढी लगानी गर्दै, २१ कार्यक्रमलाई प्रस्ताव माग

चितवन, साउन २८-
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले ठूलो संख्यामा कृषिका कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ ।
आज एक सूचना जारी गर्दै कार्यालयले पाँच करोड ६४ लाख ९० हजार रुपैयाँ बराबरका २१ वटा कृषिका कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो ।
कार्यालयले सिँचाई पूर्वाधार निर्माण तथा मर्मत, संस्थागत भण्डारण गृह तथा प्रशोधन केन्द्र निर्माण, चक्लाबन्दीमा आधारित खेती मार्फत् उत्पादन वृद्धिका लागि पूँजिजगत सहयोग, कृषि यान्त्रीकरण प्रवद्र्धन, बीउ उत्पादनलगायतका क्षेत्रका लागि कृषकलाई दरखास्त दिन आह्वान गरेको छ ।
२३ वटा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि दरखास्त आह्वान गरेको कार्यालयले ४६ लाख बजेट विनियोजन गरेको छ । तीन वटा संस्थागत भण्डारण गृह तथा प्रशोधन केन्द्र निर्माण सहयोगका लागि ७५ लाख, ८ वटा चक्लाबन्दी सम्बन्धी कार्यक्रमका लागि कार्यालयले ३० लाख रुपैयाँ विनियोजन गरेको छ । चक्लाबन्दी कार्यक्रममा लाभग्राहीको आधा लगानी हुनुपर्ने छ । यान्त्रीकरण प्रबद्र्धनका लागि ५० लाख बजेट रहेको छ । यस कार्यक्रममा धानको यान्त्रीकरणमा लागेका समूह, सहकारी, कृषि फर्महरुलाई दरखास्त दिन भनिएको छ । प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायिक उत्पादन कार्यक्रमअन्तर्गत तरकारी, माछापालन, कुखुरापालन, च्याऊ खेतीलगायतका लागि दरखास्त आह्वान गरिएको छ । यस शीर्षकमा चार वटा कार्यक्रमका लागि कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेको छ । मौरी जोन क्षेत्रमा कृषि यान्त्रीकरण, घार वितरण, रानी मौरी उत्पादन गर्न आवश्यक उपकरण सहयोगसम्बन्धी कार्यक्रमका लागि पनि प्रस्ताव आह्वान गरिएको छ । यी कार्यक्रमका लागि ३४ लाख ४० हजार रुपैयाँ बजेट रहेको छ ।
यस्तै तरकारी जोन क्षेत्रअन्तर्गत कृषि यान्त्रीकरण, बजार प्रबद्र्धन, प्राङ्गारिक तरकारीको प्रवर्दन, कृषि प्रविधि सिकाइ तथा प्रदर्शनी केन्द्र निमार्णका लागि दरखास्त आह्वान गरिएको छ । यी ६ वटा कार्यक्रमका लागि दरखास्त आह्वान गरेको कार्यालयले ८५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । यी कार्यक्रममा ५० देखि ८० प्रतिशत सम्मको अनुदान रहेको छ । धान जोन क्षेत्रअन्तर्गत कृषि यान्त्रीकरण, कष्टम हायरिङ सेन्टर स्थापना, सिंचाई पूर्वाधार निर्माण, धानमा सहभागितात्मक कृषि प्रविधि सिकाइ तथा प्रदर्शनी केन्द्र र बीउ उत्पादन सहयोग कार्यक्रमसम्बन्धी प्रस्ताव आह्वान गरिएको छ । यी कार्यक्रम सञ्चालन गर्न एक करोड २९ लाख ५० हजार रुपैयाँ बजेट छुट्टाइएको छ ।

केरा जोन क्षेत्रअन्तर्गत कृषि यान्त्रीकरण सहयोग, राइपेनिड च्याम्बर निर्माण, उन्नत प्रविधि सहित केरा क्षेत्र विस्तार, केरा खेतीमा यान्त्रीकरण र बगैचा व्यवस्थापन प्रदर्शन कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको हो । यी कार्यक्रम सञ्चालन गर्न कार्यालयले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
परियोजना कार्यान्वयन एकाइ चितवनले दरखास्त आह्वान गरेका अधिकांश कार्यक्रम ५० देखि ८५ प्रतिशतसम्मका अनुदानका कार्यक्रम रहेका छन् । यी कार्यक्रममा सहभागी हुनका लागि परियोजनामा सूचिकृत इच्छुक कृषि समूह, सहकारी, कृषि फर्म, कम्पनीलाई आवश्यक कागजात सहित ३० दिन (भदौ २५) भित्र आवेदन दर्ता गर्न अनुरोध गरिएको छ ।
परियोजनाका कार्यक्रममा सहभागी हुन संस्थाको नविकरण भएको प्रमाणपत्र, जग्गाको स्वामित्व खुल्ने सम्झौतानामा, कार्यसमितिको निर्णयको प्रतिलिपि, स्थायी लेखा नम्बर दर्ताको प्रतिलिपि, कर चुक्तालगायतका प्रमाणपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।






















