Breaking News

हात्ती दिवसमा चितवनमा हात्तीलाई वनभोज खुवाइयो, कोरोनापछि धमाधम हात्ती बिस्थापित

Banner

चितवन, साउन २८-

कोरोना संक्रमणपछि पर्यटन क्षेत्रमा गम्भीर असर पर्दा चितवनका हात्तीहरु बिस्थापित भइरहेका छन् ।

सफारीमा प्रयोग हँुदै आएका निजी हात्तीहरु कोरोना संक्रमण र आहारका कारण विस्थापित हुन पुगेका हुन् ।

पर्यटन व्यवसायको एक पाटोको रुपमा लिइने हात्ती संरक्षणमा जोड दिनुपर्ने आवाज उठाउँदै बिहीबार १० औं अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजना तथा कुमरोज मध्यवर्ती सामुदायिक वनको सहआयोजनामा एक कार्यक्रम गरी हात्तीलाई वनभोज खुवाउनुका साथै उनीहरुको चर्चा गर्दै संरक्षणमा जोड दिइएको हो ।

सौराहामा निजी क्षेत्रका ५५ वटा हात्ती सञ्चालनमा थिए । तर, कोरोना संक्रमण र आहार अभावका कारण दुई वर्ष यता १८ वटा हात्ती यहाँबाट बिस्थापित भइसकेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए । यहाँका हात्तीहरु बिक्री गरेर भारत पठाइएको छ । हात्ती दुई दशकदेखि पर्यटन क्षेत्रमा प्रयोग हुँदै आएकाले यसको संरक्षण आवश्यक रहेको उनले बताए ।

रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले हात्ती बिना सौराहाको कल्पना गर्न नसकिने बताए । डलरको खेती गर्नेहरुले हात्ती सफारीको विरोध गर्ने गरेको भन्दै उनले हात्तीमा भएको लगानी र यसले पर्यटन क्षेत्रमा पारेको सकारात्मक प्रभावका कारण बुझ्नु पर्ने औल्याए ।

रत्ननगर नगरापालिका–७ का वडाध्यक्ष समेत रहेका रेवान सौराहाका पूर्वअध्यक्ष राजन भट्टले कोरोनाका कारण पर्यटन व्यवसाय थलिँदा यहाँका हात्तीहरु भारतमा बिक्री भएको बताए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वाडेन अणनाथ बरालले हात्तीकै कारण चितवन निकुञ्ज विश्वमा प्रख्यात हुनुका साथै आम्दानीको स्रोत समेत रहेको बताए । वन्यजन्तु अवलोकनकै लागि यहाँ पर्यटकहरु आउने गरेको उनको भनाइ थियो । पर्यटन व्यवसायसमेत धारासायी भएको अवस्थामा हात्ती समेत पलायन हुनु निकुञ्जका लागि गम्भीर असर गर्ने वाडेन बरालले बताए ।
सो अवसरमा कुमरोज मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष सानुकाजी कुँवरले निकुञ्जले कार्ययोजना स्वीकृत नगर्दा वार्षिक कार्यक्रममा असर पु¥याएको भन्दै बाढीका कारण भएको क्षति र पर्यटक शुल्कमा विषेश ध्यान दिन निकुञ्ज प्रमुखको ध्यानाकर्षण गराए । वनका अध्यक्ष गणेशकुमार गुरुङले हात्ती सफारी, जीप सफारी वनको मुख्य आम्दानीको स्रोत भएकाले पर्यटकीय गतिविधिलाई बढावा दिनुपर्ने बताए । कार्यक्रममा हात्तीलाई मन पर्ने परिकारहरु खुवाइएको थियो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी नगरपालिका–१३ की वडाध्यक्ष टिकादेवी दाहाल, पर्यटन व्यवसायी बासुदेव ढुंगानालगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>