Breaking News

बाढीले भत्काएको चितवनको लदरी पुलको निर्माण प्रक्रिया सुरु, खैरहनी नगरपालिका डीपीआर बनाउँदै

Banner

चितवन, साउन २६-

चितवनको खैरहनी नगरपालिका–२ स्थित लदरी खोलामा बाढीले भत्काएको पुलको निर्माण प्रक्रिया सुरु गरिएको छ ।

गत असार तेस्रो साता आएको बाढीले सो पुलको बीचको पिल्लर धसिएर भाँचिएको थियो । पुल भाँचिए लगत्तै नगरपालिकाले चासो राख्दै निर्माणको प्रक्रिया सुरु गरेको हो । बाढीपछि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समेत स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा प्रदेश सरकारले पुल निर्माण गर्ने संकेत गरेपछि खैरहनी नगरपालिकाले निर्माणको काम सुरु गरेको हो ।

त्यो बेला मुख्यमन्त्री पौडेलले नगरपालिकाले विस्तृत प्रोजेक्ट रिपोर्ट ( डीपीआर ) तयार गरेर प्रदेश मन्त्रालय आउन भनेका थिए । सोही अनुसार नगरपालिकाले डीपीआरको काम सुरु गरेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए । सक्दो चाँडो डीपीआरको काम सक्छौ नगर प्रमुख चौधरीले भने, ‘त्यसपछि मन्त्रालयले ठेक्का प्रक्रिया अघि बढाउला ।’

मुख्यमन्त्रीपछि भौतिक मन्त्री रामेश्वर फुयाँलले समेत सो पुलको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा भौतिक मन्त्री फुयाँलले डीपीआर तयार भएको एक महिना भित्र ठेक्काका लागि सूचना प्रकाशन गरेर काम थाल्ने बताएका थिए । अहिले वर्षाकै समय रहेकाले अस्थायी बाटो बनाइएको छैन् । पुल भत्किए देखिनै चिन्ता सबै चिन्तित छौ, तर अहिले वर्षा जारी छ नगर प्रमुख चौधरीले भने – ‘तत्काल अस्थायी बाटो बनाउँदा बाढीले बगाउन सक्छ, केही समयपछि विकल्पमा जानेछौ ।’ पुल भत्किएको छोटो समयमै निर्माण प्रक्रिया सुरु भएको भन्दै नगर प्रमुख चौधरीले केही समय धैर्य गर्न आग्रह गरेका छन् । लदरी पुल भत्कदा अहिले वडा नम्बर २, ३ र ४ का स्थानीयलाई आवतजावत गर्न समस्या परेको छ । खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनीले पुल भत्कदा मुख्य बजार जोडिएको पर्सा आवतजावत गर्न वैकल्पिक बाटो रोज्नु परेको बताए । ती वडाहरुलाई जोड्ने विशेष सडक भित्र सो पुल पर्छ । पुल भत्कदा अहिले वडा नम्बर ३ को पुल हँुदै र चैनपुरचोक देखि उत्तर तर्फको बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको वडाध्यक्ष इटनीले जानकारी दिए । लदरी पुल निकै दुःख र मिहिनेतले निर्माण गरिएको सम्झदै वडाध्यक्ष इटनीले बाढीले पुल भत्काउँदा स्थानीयलाई समस्या परेको बताए । धान्याचल लगाएर सो पुल निर्माण सुरु गरिएको थियो । सडक बोर्ड, तत्कालिन जिल्ला विकास समितिबाट समेत प्राप्त रकमले निर्माण सम्पन्न नभएपछि संघीय सरकारले थप एक करोड निकाशा गरेपछि पुल निर्माण सम्पन्न भएको वडाध्यक्ष इटनीले बताए । विसं. २०५९ सालमा निर्माण सुरु भई २०६४ मा सम्पन्न भएको पुल २०६५ सालदेखि आवतजावत सुरु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>