Breaking News

चितवन प्रशासनप्रति निजी क्षेत्र असन्तुष्ट, कोरोना नियन्त्रणको नाममा मनपरी गरेको आरोप

Banner

मधुसूदन दवाडी

चितवन, साउन २६-

चितवन प्रशासनले कोरोना नियन्त्रणमा खेलेको भूमिकाप्रति निजी क्षेत्र असन्तुष्ट बनेको छ ।

प्रशासनले साना व्यवसायीलाई पसल खोल्ने समय र दिन तोकेर नियन्त्रण गरिरहँदा स्वयं सरकारी कार्यालयमा भएको स्वास्थ्य मापदण्डको उल्लंघन र भीड लाई भने नजरअन्दाज गरेर विभेदकारी व्यवहार अपनाएको व्यवसायीको आरोप छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नितान्त व्यक्तिगत नाफाको लागि गरिएको व्यवसाय र सरकारी कार्यालयले गर्ने अत्यावस्यक सेवा प्रवाहलाई एकैरुपमा लिन नहुने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ सरकारी कार्यालयका प्रमुखहरुलाई सबै तिर फोन गरेर नियन्त्रणको कार्ययोजना ल्याउन माग गरेको छु । केही योजना आएपछि के गर्ने भन्ने निर्णय हुन्छ ।’ अर्काेतिर चितवनमा कहिले एमसीसीको विरोधमा त कहिले भूमि आयोग खारेजीका विरोधमा भएको प्रदर्शन र भीडभाडलाई पनि प्रशासनले नियन्त्रण गर्न सकेको छैन ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले संक्रमण बढ्दै गएकोले चितवनमा १५ दिन माखो पनि हिड्न नपाउने गरी कडा निषेधाज्ञा गर्नु भनेर सल्लाह दिँदा प्रशासनले नटेरेको आरोप लगाए । उनले भने, ‘ हप्ताको तीन दिन व्यापार गर्ने भन्दैमा कोरोना नियन्त्रण हुँदैन ।’ उनले व्यवसायीहरुले चितवनका मालपोत, यातायातलगायतका सरकारी कार्यालयहरुमा हुने भीडभाडलाई रोक्नु भनेर सल्लाह दिँदा पनि प्रशासनले केही नगरेको बताए । उनले भने, ‘ व्यवसायीले सधै दसैँ,तिहार जस्ता चाडपर्व हेरेर बसेको हुन्छ । अहिले नै कडा लकडाउन गर्दा केही छैन तर चाडपर्वमा कुनै हालतमा लकडाउन गर्नु हुँदैन ।’

आज दिनभर मालपोत कार्यालयमा निकै नै भीडभाड रहेको थियो । त्यहाँ न त कुनै सामाजिक दूरी थियो नत कुनै स्वास्थ्य मापदण्ड नै पालना गरिएको थियो । मालपोत कार्यालय पुगेका चितवनका पत्रकार टिकादत्त तिमिल्सिनाले चितवन प्रशासनले काम गरेर खाने साना व्यवसायीलाई मापदण्डको कुरा गरे पनि मालपोत कार्यालय जस्ता सरकारी कार्यालयमा यस्ता मापदण्ड कायम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘जग्गा किनबेच गर्ने पैसावाल मानिसहरु जाने भएर मालपोतमा कुनै मापदण्ड पालना छैन । प्रशासनको पैसावाल र सामान्य व्यवसायीलाई गर्ने व्यवहार नै फरक छ ।’

मालपोत कार्यालय चितवनले कर्मचारीहरुलाई स्यानिटाइजरको व्यवस्था गरे पनि सेवाग्राहीलाई भने कुनै मापदण्ड पालनमा कडाइ गर्न नसकिएको बताएको छ । चितवन मालपोतका प्रमुख शेरबहादुर भण्डारीले नारायणी अनलाइनलाई भने, ‘ सीडीओ साबले कार्ययोजना ल्याउनु भन्नु भएको छ । तर भीडभाड नियन्त्रण गर्न निकै कठिन छ । सेवाग्राहीलाई स्यानिटाइजर उपलब्ध गराउने बजेट नै छैन । एउटा काममा पाँच जनासम्म मानिस आउने भएकोले यसै पनि भीडभाड हुने गरेको छ ।’ पसलबाट सर्ने र सरकारी कार्यालयका सेवाग्राहीबाट कोरोना नफैलने भन्ने हुनै नसक्ने व्यवसायीको भनाइ छ ।

फोटो: टिकादत्त तिमिल्सिना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>