Breaking News

नारायणगढमा दुई अर्ब लगानीमा अत्याधुनिक मेट्रो प्लाजा बन्दै, महानगर र आर्या बिल्डर्सबीच सम्झौता

Banner

चितवन, साउन २४-

भरतपुर महानगरपालिका र आर्या बिल्डर्स एन्ड इन्जिनियरिङ प्रालीबीच भरतपुर मेट्रो प्लाजा निर्माण सम्बन्धी आज निर्माण सम्झौता भएको छ ।
सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्सले निर्माण र सञ्चालन गरी सम्झौताको मितिले तीस वर्षपछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ ।

निर्माणाधिन बहुतले भरतपुर मेट्रो प्लाजा दुई तला अन्डर ग्राउन्ड पार्किङ १६ तलाको हुने छ । तीन लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइको रहने छ । दुई तला बेसमेन्ट पार्किङको सुविधा हुने भवनमा पाँच तारे होटल देखि सिनेमा हल,फूट कोर्टका साथै व्यवसायिक स्थलहरू हुनेछन् । आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । भरतपुर महानगरको मुख्य बजार लायन्सचोकमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा १० कट्ठा क्षेत्रफलमा निर्माण हुनेछ ।

परियोजना निर्माण तथा सञ्चालन सम्झौता निरन्तरको प्रयासपछि सम्पन्न भएको भन्दै यो परियोजनाले चितवनको समग्र विकासमा एक कोसेढुंगा साबित हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

पछिल्लो समय नेपाली समाज सुविधा सम्पन्न मल तथा अपार्टमेन्ट प्रति आकर्षण बढिरहेको बताउँदै यो सुविधा सम्पन्न भरतपुर मेट्रो प्लाजा आफ्ने गौरवको आयोजना भएको उनले दाबी गरिन् । यसलाई सम्झौतामा तोकिएकै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्स लाई आग्रह गरिन् । सो अवसरमा प्रमुख दाहालले भरतपुरको समग्र विकासमा आफ्नो जोड रहेको भन्दै सिटीहल, मेट्रो प्लाजा, ६ लेन सडक, स्मार्ट सडक लगायतका आयोजनाहरू सम्पन्न हुँदा भरतपुरको मुहार फेरिने आशा व्यक्त गरिन् ।

परियोजना निर्माण तथा सञ्चालनसम्बन्धी सम्झौता कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले भरतपुरको मुटुमा ठूलो परियोजना निर्माण सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्सलाई आग्रह गरिन् । सो अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले सार्वजनिक निजी साझेदारी मोडलमा यो विशाल परियोजना निर्माणले भरतपुर र समग्र चितवनमै थप आयाम थपिने बताए ।

सम्झौता कार्यक्रममा चितवन उधोग संघका अघ्यक्ष राजु श्रेष्ठले सम्झौता भएको बहुतले व्यवसायिक भवन चितवनकै आइकोन परियोजना हुने बताउदै समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले लायन्सचोकमा बन्ने बहुतले भवन चितवनको थप परिचयको रूपमा रहने विश्वास व्यक्त गर्दै सार्वजनिक निजी साझेदारी मोडलमा परियोजना अगाडि बढाएको भरतपुर महानगर र आर्या बिल्डर्सलाई धन्यवाद ब्यक्त गरेका थिए । सो अवसरमा वडा न ३ का वडाध्यक्ष चन्द्र मित्र पण्डित लामो प्रयासपछि आफ्नो वडामा विशाल परियोजना भरतपुर मेट्रो प्लाजा निर्माणको सम्झौता भएकोमा खुसी व्यक्त गर्दै आफू र वडावासीको तर्फबाट सधै सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा आर्या बिल्डर्स एन्ड ईन्जिनियरिङका प्रबन्धक जीवन कँडेलले भदौको पहिलो साताबाटै निर्माणको काम अगाडि बढाउने बताउदै दुई वर्ष भित्रैमा परियोजना सम्पन्न गर्ने गरी कार्ययोजनाका साथ काम अगाडि बढाउने बताए ।

परियोजना निर्माण तथा सञ्चालन सम्बन्धी महानगर र आर्या बिल्डर्काबीच आज भएको यो परियोजना सम्झौता सम्म आईपुग्दा भिकोक एण्ड कम्पनीले समेत महत्वपूर्ण भूमिका खेलेको भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर भरत आचार्यले बताए । परियोजना निर्माणसम्बन्धी बिस्तृत सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा र आर्य इन्जिनियरिङका तर्फबाट प्रबन्धक जीवन कँडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । यो परियोजना संचालन गरी ३० वर्षमा महानगरले लिदा यो अवधिमा ८१ करोड राजस्व महानगरपालिकाले प्राप्त गर्ने छ । सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन हुने यो परियोजना देशकै पहिलो र ठूलो रहेको महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले बताए । दुई अर्ब लागतमा निर्माण हुने परियोजना सम्झौता भएको मितिले तीन वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने छ भने ३० वर्षपछि महानगरपालिकालाई आर्या बिल्डर्सले हस्तान्तरण गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>