चितवन विशेष
भरतपुरमा भएको बीआईडी चित्रकला प्रतियोगितामा युकेश सुनार पहिलो

चितवन, साउन २३-
भरतपुरमा भएको प्रथम खुल्ला बिआईडी चित्रकला प्रतियोगितामा पोखराका युकेश सुनार पहिलो भएका छन् ।
युकेश कुमुदिनी होम्स माविमा कक्षा १२ मा पढ्छन् । पोखरा–१३ बाजापाटनका युकेश केही वर्ष यता चित्रकलामा आकर्षित छन् । चित्रकला सिकाउने गुरुले खबर गरेपछि प्रतिस्पर्धामा भाग लिन चितवन आएका युकेशले हिमालको फेदीमा देखिने पोखराको चित्र कोरेर पुरस्कार जितेका हुन् । ‘चित्रकलामा लाग्ने हौसला मिलेको छ’, उनी भन्छन्, ‘भविष्यमा चित्रकलामार्फत देशलाई विश्वमा चिनाउने छु ।’ प्रतिस्पर्धामा चितवन र पोखराका २२ जना सहभागी थिए । तीन घण्टा लगाएर उनीहरुले चित्र कोरेका थिए ।
प्रतियोगितामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरकी स्वस्तिका ढकाल दोस्रो, रत्ननगर नगरपालिका–१३ का हिमाल श्रेष्ठ तेस्रो र कालिका नगरपालिका–२ की अञ्जु गुरुङले सान्त्वन स्थान हासिल गरे । विजयीलाई क्रमश पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । विजयीलाई पुरस्कार वितरण गर्दै साहित्यकार गोविन्दराज विनोदीले चित्रकला विकासमा युवा आकर्षण बढ्नु सकारात्मक भएको बताए । कलाकार भीम शर्माले चित्रकलालाई विस्तार गर्न जरुरी रहेको बताए । साहित्यकार भूपिन, इश्वर कँडेल, दामोदर पौडेल, वरिष्ठ चित्रकार दामोदर बराललगायतले कला सम्वद्र्धनका लागि कार्यक्रम फलदायी भएको बताए ।
क्षेत्रपुरकी स्वस्तिका ढकाल एमबीएको विद्यार्थी हुन् । सानैमा चित्र कोर्न रुचाउने उनले १२ वर्षको उमेरपछि छाडेकी थिइन् । ‘फेरि १ वर्ष यता चित्र कोर्न थालेको छु’, उनी भन्छिन्, ‘पढाइसँगै चित्रकला पनि अगाडि बढाउने छु ।’ उनले चित्र कोर्ने सीप नसिके पनि चित्र बनाउन अब्बल बन्न थालेकी छन् । उनले बनाएको मुस्ताङ बस्तीको चित्र दोस्रो बनेको थियो । भरतपुर–२ का रोशन गोतामे पेरिस व्युटी पार्लरमा काम गरे पनि चित्र कोर्न समय निकाल्छन् । ‘फुर्सदमा चित्र कोर्ने आदतनै बसेको छ’, उनी भन्छन्, ‘भविष्यमा चित्रकलानै पेसा बनाउने रहर छ ।’ भरतपुर–२१ पार्वतीपुरका आयुष घिमिरे सानैदेखि चित्र कोर्न रमाउँथे । ‘विस्तारै चित्रमा मोह बढेको छ’, उनी भन्छन्, ‘सीप सिकेर राम्रो चित्रकार बन्ने लक्ष्य छ ।’






















