शिक्षा

एमबीबीएस इन्ट्रान्स टपर आशिक,जसले कक्षा १ देखि नै सरकारी स्कुल पढे

Banner

काठमाडौं,साउन २४-

११ हजार बढी विद्यार्थीले एमबीबीएसका लागि इन्ट्रान्समा दिएका थिए । जसमध्ये ४३ सय बढी मेधावी विद्यार्थीहरुले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरे । मेधावी विद्यार्थीहरुमध्येमा सर्वोत्कृष्ट भए—धनुषा सबैला गेरूवाही १० का आशिक झा । २ सय पूर्णांकमा १८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन्, उनी । बिहीबार साँझ अबेर एमबीबीएस इन्ट्रान्सको रिजल्ट हुँदा सर्वोत्कृष्ट भएको पहिलो खबर आशिकले दाजुबाट सुने । सबैभन्दा पहिले उनले आफूले टप गरेको कुरा जनकपुरमा रहेकी आमा रिंकुकुमारी मिश्रलाई सुनाए । आमाले भनिन्, ‘छोरा अघि बढ्दै गर । प्रगति गर । एकदमै खुसी छु ।’ त्यही कुरा बुवाले पनि उनलाई भने ।

धनुषा सबैला सामान्य परिवारमा वि.सं. २०६० जन्मिएका हुन्, आशिक । उनका बुवा पवननारायण झा सरकारी स्कुलमा अस्थायी शिक्षक थिए । आमा घरव्यवहारमा तल्लीन थिइन् । किसान परिवारमा जन्मेका उनको घरबाट जनकपुर पुग्न झण्डै ५० किलोमिटर लामो यात्रा तय गर्नुपर्छ । तीन वर्षको हुँदा पहिलो पटक उनी धनुषाको आफू जन्मिएको गाउँबाट जनकपुर आए । जनकपुरमै उनको प्रारम्भिक अध्ययन अगाडि बढ्यो । पछि उनका बुवा जागिरको क्रममा उदयपुर गए । उनी बुवासँगै त्यही गए । त्यहाँको पन्चावती माविमा कक्षा ७ सम्म अध्ययन गरे । त्यसपछि पुनः जनकपुर फर्किए । जनकपुरको श्रीधाम माविबाट आशिकले वि.सं. २०७४ सालमा एसईई उत्तीर्ण गरे ।

‘एसएलसीमा ३.७ जिपीई ल्याए,’ उनले भने । त्यसपछि उच्च शिक्षाका लागि उनी काठमाडौं आए । आर्थिक रुपमा पारिवारिक पृष्ठभूमी कमजोर थियो । ‘मैले सेन्ट जेभियर्समा पनि नाम निकालेको थिएँ,’ उनले सुनाए, ‘तर, महंगो भएपछि म विश्व निकेतनमा भर्ना भए ।’ सामुदायिक विद्यालयहरुमाझ फरक छवि र उत्कृष्ट मावि हो विश्व निकेतन । ११ र १२ कक्षाको अध्ययन उनले जम्मा २८ हजार रुपैयाँमै सके । उनले कक्षा ११ र १२ दुवैमा नै ३.७३ जीपीई ल्याएका छन् । १० कक्षाबाटै चिकित्सक बन्ने सपना कक्षा १० मा पढ्ने बेलादेखि नै आशिकले चिकित्सक बन्ने सपना बुन्न थालेका थिए । ‘मैले एमबीबीएस पढ्छु भनेर संकल्प लिएको १० कक्षा पढ्दै गर्दा हो,’ शुक्रबार मध्यान्ह संचारकर्मीसंग उनले भने, ‘त्यसबेला मेरो दाइ एमबीबीएस इन्ट्रासको तयारी गर्दै हुनहुन्थ्यो । उहाँ अहिले आयुर्वेद शिक्षा पढिरहनु भएको छ ।’ ११ र १२ कक्षाको पढाइ नसक्दैं उनले चिकित्सा शिक्षा आयोगको पाठ्यक्रमलाई मध्यनजर गर्दै तयारी थालेका हुन् । ‘स्कुलले पनि मलाई कक्षा ११/१२ को पुस्तक सित्तैमा प्रदान गर्नुभयो । सरहरुले पनि गाइड गर्नु भयो,’ उनले आफ्नो सफलताको रहस्य खोले, ‘मैले त्यसरी पढे । भन्छन नि ‘क्वान्टिटी डज नट म्याटर्स, क्वालिटी म्याटर्स’ ।

एमबीबीएसको तयारीका लागि ५ घण्टाभन्दा बढी कुनै पनि दिन नपढ्को उनी सुनाउँछन् । ‘धेरै दिन त मैले १ घण्टा पनि पढिन होला । नाम निकाल्नका लागि पहिलो प्राथमिकता बुझाइ हो भनेर मैले पढेको हुँ । नबुझेको कुरा पटक–पटक दोहो¥याएर बुझ्ने प्रयास गर्थे,’ उनी इन्ट्रान्स टप गर्ने आफ्नो फर्मुला सुनाउँछन्, ‘आफूले नजानेका कुराहरु वेबसाइटमा पनि हेर्थे । पढेको कुरा बुझियो भने मेडिकल इन्ट्रान्स केहि पनि होइन ।’ न्युरोमा विशेषज्ञता हासिल गर्ने धोको आशिकको टार्गेट एमबीबीएसको २ सय पूर्णांक नै ल्याउने थियो । त्यसैलाई अर्जुनदृष्टि बनाएर उनले आफूलाई तयार पारे । ‘मेरो टार्गेट २ सयको थियो । छात्रवृति पाउँछु भन्ने ग्यारेन्टी नै गरेको थिए,’ उनले भने, ‘त्यसमा सफल पनि भएँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>