Breaking News

चितवनमा झण्डै ४० हजार सुकुमबासीद्वारा लालपूर्जा माग, खैरहनीमा पूर्जा दिन जग्गा नाप सुरु

Banner

चितवन, साउन १८-

चितवनको खैरहनी नगरपालिकाले सुकुमबासीहरुलाई लालपूर्जा प्रदान गर्नका लागि आजबाट जग्गा नापजाँचको काम सुरुवात गरेको छ ।
खैरहनी वडा नम्बर १ को सुन्दरबस्तीबाट जग्गा नापजाँच सुरु गरिएको हो ।

भूमिसम्बन्धी समस्या समाधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठक र खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले पिल्लर गाडेर नापजाँच प्रारम्भ गरेका हुन् । सुन्दरबस्तीमा ३५ घरधुरी सुकुमबासीहरुको बसोबास छ । जग्गा नापजाँचको सुभारम्भ गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका आयोगका जिल्ला अध्यक्ष यादव पाठकले आयोग विघटन भएको भन्ने हल्ला निराधार रहेको बताए । ‘आयोग विघटन भयो भनेर गतल प्रचार गरिएको छ’ पाठकले भने , ‘आयोग विघटन नभएको र जिल्लामा लालपूर्जा वितरणसम्बन्धी काम भइरहेको छ ।’   जिल्ला अध्यक्ष पाठकले संविधान सम्बत बनेको आयोग विघटन गर्ने क्षमता कसैसँग नभएको भन्दै सुकुमवासी, भूमिहिन र दलित भूमिहिनले लालपूर्जा प्राप्त गर्ने बताए ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले नगरकार्यपालिकाको पहिलो बैठकले सुकुमवासीलाई लालपूर्जा प्रदान गर्ने निर्णय गरेको भन्दै त्यसको सुरुवात भएको बताए । नगर प्रमुख चौधरीले जग्गा नाप्ने क्रममा केही तलमाथि भए त्यसमा चित्त बुझाएर काममा सहयोग गर्न स्थानीयलाई आग्रह गरे । भूमिसम्बन्धी समस्या समाधान आयोग लागत संकलन इकाइ खैरहनीका संयोजक दामोदर अधिकारीका अनुसार तीन हजार २६२ जनाले लालपूर्जा प्राप्तीका लागि फारम भरेका छन् ।

भुमिहिन सुकुमबासी ८६५, भुमिहिन दलित १७१ र अव्यवस्थित बसोबासी दुई हजार २२८ घरधुरीले फारम भरेको अधिकारीले बताए । जग्गा नापजाँच शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख सुनिता थपलिया, आयोग जिल्ला सदस्य महादेवी खतिवडा, खैरहनी नगरपालिकाका प्रवक्ता रामशरण पाण्डे, वडा नम्बर १ का अध्यक्ष भूमिप्रसाद कँडेल,नेपाल बसोबास बस्ती संरक्षण समाज खैरहनीका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । चितवनमा भूमिहीन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित गरी ३९ हजार ५९७ जनाले लालपूर्जाको माग गर्दै फारम भरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>