देश/प्रदेश

सर्लाहीका उखु किसान पुनः आन्दोलन गर्न काठमाडौँमा, भदौ ५ सम्म भुक्तानीको अल्टिमेटम

Banner

काठमाडौं, साउन १४-

सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा जुटेका हुन् । आज रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरुले चिनी उद्योगसँग लिन बाँकी भुक्तानी अझैसम्म पनि नपाएको गुनासो गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले पहिला सरकारलाई आफूहरुको अवस्थाबारे अवगत गराउने र आगामी भदौ ५ गतेसम्म सम्पूर्ण भुक्तानी नगरे आन्दोलन गर्ने चेतावनी दिए । मिश्रले उद्योग मन्त्रालयसँग २१ दिनभित्र सम्पूर्ण बाँकी बक्यौता रकम मन्त्रालयले भुक्तानी गराउने भनी २०७७ पुस १३ गते पाँच बुँदे सहमति भए पनि हालसम्म आफूहरुले सम्पूर्ण भुक्तानी नपाएको गुनासो पोखे । सरकारको उदासिनताका कारण आफूहरु अन्यायमा परेको उनको भनाइ छ ।

मिश्रले विगत तीन÷चार वर्षदेखिकै करिब ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा जुटिसकेको स्पष्ट पारे । उनले अहिलेसम्म २०७४ कै भुक्तानी रकम नपाएको बताए । उनले उखु किसानहरुले दाबी गरेको ९० करोड मध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रालयले विवादित भनी कार्यदलले प्रतिवेदनमार्फत छिनोफानो गर्ने भनिए पनि यसबारेमा मन्त्रालयले चासो नदिएको आरोप लगाए ।

उखुकै पैसा माग्न सर्लाही जिल्लाका उखु उत्पादक किसान काठमाडौँ आएको मिश्रले बताए । उनले उखु बेचेरै धेरैले आफ्नो घरपरिवार र व्यवहार चलाउने गरेको भन्दै अहिले सबै किसानको आर्थिक अवस्था नाजुक भएको र व्यवहार बिग्रिएको पनि सुनाए ।
सरकारबाट पटक–पटक आश्वासन पाए पनि अहिलेसम्म भुक्तानी हुन नसकेपछि किसानहरु कोरोना महामारीको बावजुद पनि फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौँ आएको मिश्रले बताए ।

उनले ३६ प्रतिशत रकम ब्याजमा लिएर अर्काको जग्गामा उखु खेती गर्नेहरुको उठिबास भएको सुनाए । उनले अघि थपे,‘निमुखा किसानहरुको बिजोग भएको छ ।’ केही दिनअघि एक किसानलाई बैंकले लिलामीको सुचना पठाएपछि चन्दा उठाएर काम सल्टाउँदा पनि मिलले किसानको पैसा नदिदा दुःख लागेको मिश्रले बताए ।

ऋण लिएर उखु खेती गरेका किसानहरु थप मारमा परेको उनको भनाइ थियो । ‘किसानका लागि योभन्दा ठूलो अत्याचार के हुनसक्छ ?’–उनले भने । उनले भुक्तानीको पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौँ धाउनुपरेको समेत स्मरण गराए ।

समयमै भुक्तानी नपाउँदा उखु उत्पादक किसान पटक–पटक आन्दोलन गर्न बाध्य भएको उनले तितो यथार्थ सुनाए । विगतकै भुक्तानी नभएपछि सर्लाहीका पाँच किसान फेरि काठमाडौँ आएका हुन् । उखु किसान २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । किसानको भुक्तानी नदिने मिलहरुमा अन्नपूर्ण चिनी मिल धनकौल, महालक्ष्मी चिनी मिल बागदह, लुम्बिनी चिनी कारखाना नवलपरासी, ईन्दिरा सुगर मिल नवलपरासी र श्रीराम सुगर मिल रौतहट रहेका छन् । यी मिलबाट सरकारले उखु किसानको लागि १५ करोड रुपैयाँ उठाइ दिने कबुल गरेको भएपनि अहिलेसम्म एक रुपैयाँ पनि नउठाइ दिएको उनीहरुको गुनासो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>