कृषि
भरतपुर महानगरद्वारा ३८ कृषि फर्मलाई कृषि यन्त्र वितरण

भरतपुर, साउन १३-
भरतपुर महानगरपालिकाले कृषि फर्महरुलाई पशु सेवासम्बन्धी यन्त्र वितरण गरेको छ ।
महानगरपालिकाले आज आर्थिक विकास महाशाखामा ३८ जना व्यवसायिक किसानलाई घाँस काट्ने र दूध दुहुने मेसिन अनुदानमा बितरण गरेको हो ।
महानगरले १७ जना किसानलाई दूध दुहुने मेसिन र २१ जनालाई इलेक्ट्रिक मेसिन घाँस काट्न उपलब्ध गराएको छ । एक लाख २४ हजार ३०० पर्ने मिल्किङ्क मेसिन(दुध दुहुने) लाई कृषकले ३१ हजार ७१ रुपैयाँमा मात्रै रकम तिर्नुपर्ने र ३३ हजार ९०० पर्ने इलेक्ट्रिक च्याफकटर मेसिन (घाँस काट्ने) लाई कृषकले कति पनि रकम तिर्नु नपर्ने गरी यन्त्र वितरण गरिएको महानगरका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए ।
कार्यक्रममा भरतपुरकी महानगर प्रमुख रेनु दाहालले किसानलाई सेवा सुविधा दिइने तरिकाले यन्त्र वितरण गरिएको बताएकी छन् । उनले पछिल्लो समय किसानलाई धान रोप्ने मेसिन पनि हस्तान्तरण गरिएको जानकारी दिइन् । किसानको लागत न्यून गरी उत्पादन वृद्धि गरोस् भन्ने उद्देश्यले कृषि सामग्रीहरु सहयोग गरिएको दाहालले बताइन् । किसानको उत्पादन क्षमतालाई उन्नति गर्ने तरिकाले यन्त्र वितरण गर्ने कार्यलाई आगामी वर्ष पनि नियन्तरता दिइने उनले भनिन्, ‘महानगरले ७८\७९ आर्थिक वर्षमा कृषिलाई अलि बढी जोड दिन थालेको नै छ । अब महानगरले एउटा मात्रै नभई समग्र क्षेत्रलाई ध्यान दिएर कृषि क्षेत्रलाई सुदृढ पार्नेछ ।’ महानगरले धान रोप्ने मेसिनदेखि बारी जोत्ने ट्याक्टरहरु, ढुवानीका साधनहरु पनि बितरण गर्दै आएको छ ।
दुई मेसिनको महानगरले ७५ प्रतिशत अनुदान दिएको छ भने २५ प्रतिशत सम्बन्धित व्यवसायिक किसानहरुले तिरेका छन् । महानगरले सूचना प्रकाशित गरी आवेदन फारम खोलेका थिए । जसको लागि किसानहरुको कृषि फर्म सम्बन्धित वडामा दर्ता भएको एक वर्ष पूरा हुनुपर्ने मापदण्ड रहेको थियोे । आवेदन फारम भरे अनुसार महानगरले स्थलगत अनुगमन गरी किसान छनौट गरी आज मेसिन वितरण गरेको हो ।


























