Breaking News

चितवनमा विगत एक महिनामा दैनिक ६ गुना कोरोना संक्रमित बढे

Banner

चितवन, असार ९-

चितवनमा विगत एक महिनाको समयमा दैनिक संक्रमितको संख्यामा ६ गुनाले वृद्धि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार गत असार २ गते दैनिक ४८ जना संक्रमित रहेकोमा साउनको पहिलो हप्तासम्म यो संख्या बढेर दैनिक २५५ जनासम्म पुगेको हो । असारको ५ गतेसम्म दैनिक संक्रमितको संख्या १०० भन्दा तल ५० को हाराहारीमा थियो । साउन २ गते दैनिक १०५ संक्रमित थपिएर साउन ७ गतेसम्ममा यो संख्या अहिलेसम्मकै सर्वाधिक धेरै २५५ जनासम्म पुग्यो । सबैभन्दा कम र धेरैको तुलना गर्दा संक्रमण ६ गुनाले बढेको देखिन्छ ।

यसैगरी वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनमा जम्मा परीक्षण गराएकाहरु मध्ये अहिलेसम्म सबैभन्दा बढी ३३.८६ प्रतिशतलाई कोरोना संक्रमण देखिएको छ । सबैभन्दा कम असारको पहिलो हप्तामा २.१० प्रतिशत र सबैभन्दा बढी साउनको पहिलो हप्तामा रहेको छ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुसार सबैभन्दा धेरै ३० देखि ३९ उमेर समूहका पुरुष बढी कोरोना संक्रमित भएका छन् भने महिलाहरु २० देखि २९ वर्ष उमेर समूहका सबैभन्दा बढी रहेका छन् । सबैभन्दा कम संक्रमित एक वर्षसम्मका बालबालिका संक्रमित भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा र सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा संक्रमित भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी ६१ देखि ७० उमेर समूहका रहेका छन् । चितवनमा ३६ प्रतिशत महिला र ६४ प्रतिशत पुरुष संक्रमित भएका छन् । मन्त्रालयका अनुसार चितवनमा कोरोना संक्रमित भएकाहरु मध्ये ८८.६ प्रतिशत निको भएका छन् । ९.७ प्रतिशत आइसोलेसनमा र १.७ प्रतिशतको मृत्यु भएको तथ्यांक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>