Breaking News
चितवन प्रशासनलाई गृहमन्त्रालयको परिपत्र, सवारीसाधन सञ्चालनमा सहजीकरणको निर्देशन

चितवन, साउन ७-
गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि सहजीकरण गर्न चितवनसहित सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
मंगलबार गृह मन्त्रालयले चितवनसहित ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालय, नक्साललाई मध्यम र लामो दूरीको सार्वजनिक सवारीसाधन सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न भनिएको हो।
देशभर कोरोना संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्न भन्दै वैशाख १७ गतेदेखि चितवनलगायत अन्य जिल्लाहरुमा निषेधाज्ञा गरिएको थियो । जसको कारण लामो तथा मध्य दूरीका सार्वजनिक सवारी साधन चल्न सकेका थिएनन् ।
पछिल्लो केही साता निषेधाज्ञा खुकुलो बनाइएको छ । रोकिएका विभिन्न तहका परीक्षाहरु समेत सञ्चालन भइरहेका छन् । त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगले लिने परीक्षा सञ्चालन मिति सार्वजनिक भएकाले देशका विभिन्न क्षेत्रबाट आउने परीक्षार्थीलाई ध्यानमा राखेर सुरक्षा मापदण्ड पूरा गरेर लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं उपत्यका लगायत केही जिल्लाहरुमा अहिले सबै सवारी साधनलाई चल्न दिएको छ । हामीले मंगलबार नै पत्र पठाएका हौं । अब सबै लामो दूरीका सार्वजनिक यातायात मापदण्ड पूरा गरेर चल्छन्,’ गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले भने ।
























