Breaking News
कोरोना परीक्षणका लागि भरतपुरमा भीड, न भौतिक दूरी न स्वास्थ्य मापदण्ड, जोखिम मात्र बढी
चितवन, असार २९-
चितवनमा निषेधाज्ञा केही खुकुलो भएसँगै कोरोनाको लक्षण देखिएर कोरोना परीक्षण गर्नेको संख्या बढ्न थालेको छ ।
हरेक दिन भरतपुर अस्पतालको नयाँ भवनमा देखिने कोरोना परीक्षण गर्ने नागरिकको भीडले पनि कोरोना परीक्षण गर्नेहरुको संख्या बढ्दै गएको पाइएको हो ।
भरतपुर अस्पतालको मूल गेट नजिकै टिकट काउन्टरमा टिकट काटेपछि नयाँ भवनमा स्वाब संकलनको लागि बिरामीहरुलाई पठाइन्छ । टिकट काउन्टरदेखिनै मानिसहरुको भीड देखिन्छ । जहाँ कसैले सामाजिक दूरी पालना गरेको हुँदैन । अस्पताल प्रशासनलाई पनि यसबारे कुनै चासो छैन । कर्मचारीले झ्यालबाट भित्र पटकपटक स्यानिटाइजर प्रयोग गरेको देखिए पनि अस्पताल र प्रयोगशालामा सेवाग्राहीले स्यानिटाइजर प्रयोग गर्ने त कुरै छाडौं देख्न पनि पाएका हुँदैन । अस्पतालमा रेलिङहरु, विभिन्न सामानहरु हरेक नागरिकले छोइरहेका हुन्छन् तर उनीहरुले हात धुन वा स्यानिटाइजर लगाउन पाएका हुँदैन । अस्पताल प्रशासनले पनि यसबारे व्यवस्था गर्न सकेको छैन ।
भरतपुर महानगरपालिका वडा नम्बर १० रमाइलोचोकबाट कोरोना परीक्षण गर्न प्रयोगशाला पुगेका सुदिप दवाडीले मानिसहरुको भीडभाड हेर्दा कोरोना नभए पनि कोरोना बाकेर घर फर्कनुपर्ने जस्तो भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘मानिसहरुको बीचमा भौतिक दूरी कायम छैन । जभाभाबी भीडभाड बढेको छ । सारै नै अशक्त बिरामीहरु निकै नै समस्यामा परेका देखिन्छन् ।’ भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भीडभाड रोकेर सामाजिक दूरी कायम गर्ने अधिकतम प्रयास गरिरहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘बैँकमा, बजारमा, अस्पतालमा सबैतिर भीडभाड छ । स्वास्थ्य मापदण्ड पालना छैन ।’
भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले चितवनमा नयाँ भेरियन्टदेखिएसँगै केसहरु बढेकोले पनि भीड बढेको बताए । उनले भने, ‘ अस्पतालको टिकट काउन्टरलगायत लाइन बस्ने ठाउँमा गोलो घेरा बनाइदिएको भए पनि कसैले टेर्देनन् । यसको लागि बिरामीहरु आफै सचेत हुनुपर्छ ।’ उनले अस्पतालले कोरोनाका बिरामी र अन्य बिरामीलाई छुट्टाछुट्टै टिकट काट्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । सरकारले सरकारी अस्पतालमा मात्र कोरोनाको उपचार निःशुल्क गर्ने भनेकोले पनि मानिसहरुको सरकारी अस्पतालमा आकर्षण बढ्दो छ तर समय अनुसार जनशक्तिको व्यवस्थापन गरेर प्रभावकारी स्वास्थ्य सेवा दिने कार्यमा भने अस्पताल चुकेको देखिन्छ ।