Breaking News
भरतपुरकी मेयर रेनु भन्छिन्: ५०० किलोमिटर सडक पिच गरिसक्यौं, अब नमुना सडक बनाउँछौं
चितवन, असार २६
चितवनमा माओवादी विद्रोहमा ज्यान गुमाएकी शहिद शारदा श्रेष्ठ (ऋतृ) को स्मृतिमा तीन किलोमिटर सडकलाई शहिद शारदा ऋतु मार्ग नामाकरण गरिएको छ ।
जनयुद्धको क्रममा ज्यान गुमाएकी कलाकार ऋतृको गाउँको सडकमा पहिलो चरणमा ६०० मिटर पक्की पिच निर्माण सम्पन भएपछि आज उद्घाटन गरेर सडकको दायाँबायाँ दुवै तिर वृक्षरोपण समेत गरिएको हो ।
५० लाख रुपैयाँ लागतमा पहिलो चरण ६०० मिटर पक्की पिच भएको सडक १६ मिटरको बाटो कायम गरी ६ मिटर चौडाइमा ६०० मिटर पक्की पिच गरिएको फूलबारी गोपालगञ्ज टोल विकास संस्थाका अध्यक्ष भेषराज गौतमले जानकारी दिए ।
भरतपुर–१५ फुलबारी स्थित फुलबारी गोपालगञ्ज टोल विकास संस्थाअन्तर्गत पर्ने शहिद शारदा ऋतु मार्गको भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्घाटन गरेकी हुन् । सो अवसरमा मेयर दाहालले विकासको रफ्तारमा भरतपुरले हरियाली प्रवर्द्वनसहित सौन्दयकरण गर्ने अभियान सुरु गरिसकेको बताइन् । ‘विकासमा हातेमाले आवश्यक छ’, उनले भनिन्, ‘जनस्तरबाट आएको योजनालाई प्रथामिकता दिँदै भरतपुरको सबै वडामा विकास एउटै रफ्तारमा छ ।’
उनले भूगोलको हिसाबले सबैभन्दा ठूलो क्षेत्रफल भएको वडा नम्बर १५ मा यस आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरी विकास निर्माणलाई अगाडि बढाएको जानकारी दिइन् । उनले दिगो विकासका लागि भरतपुरमा हरियाली प्रवद्र्धनसहित सौन्दयकरण गर्ने अभियानले नयाँ फड्का मार्ने बताइन् । विकास भएर मात्र भन्दा पनि वातावरणमैत्री विकासमा यतिबेला भरतपुर अग्रसर भएको मेयर रेनुको भनाइ थियो ।
भरतपुरमा सबै क्षेत्रको सहयोग सहकार्यकै कारण महानगरको अग्रसरमा ५०० किलोमिटर सडक पिच गर्ने काम सम्पन्न भई नुमना सडक निर्माणमा महानगरले प्रथामिकता दिने काम तीव्र रुपमा अगाडि बढाएको मेयर रेनुले स्पष्ट पारिन् । आफूहरु पक्की मात्र नभई नमुना सडक निर्माण अग्रसर भएको भन्दै सडक निर्माणको गुणस्तरमा चनाखो बन्न जनतालाई उनले आग्रह गरिन् ।
यस्तै सोही वडाका वडावासी एवम् कपिलवस्तु डिभिजन वन कार्यालयका प्रमुख दुर्गा कार्कीले विकासलाई वतावरण जोडेर विकास गरे मात्रै त्यो दिगो बन्ने बताए । उनले दिगो विकासमा हरियाली महत्वपूर्ण हुने भन्दै हरेक सडकको दायाँबायाँ वृक्षरोपण अभियान मात्रै नभई संरक्षणमा पनि ध्यान दिन अपिल गरे । यस्तै चितवन डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालकृष्ण खनालले वातावरणमैत्री सडक निर्माणले केहि वर्षमा भरतपुर हरियाली नमुना भरतपुरको रुपमा समेत पहिचान दिलाउने बताए ।
फूलबारी गोपालगञ्ज टोल विकास संस्थाका अध्यक्ष भेषराज गौतमले भरतपुर महानगरले स्थानीय जनताको मागलाई मध्यनजर गर्दै टोल टोलमा हरियालीसहितको सडक निर्माण कार्यलाई धन्यवाद दिँदै थप जनमैत्री काममा ध्यान दिन आग्रह गरे । कार्यक्रममा बाटो समितिका अध्यक्ष केशव अधिकारी, शहिद परिवारका अगुवा अञ्जनकुमार तिमिल्सिना, शहिद शारदाका बुबा नारायण श्रेष्ठ, सिर्जनशील आमा समूहकी अध्यक्ष भगवती अधिकारी, भरतपुर महानगरका सचिवालय सचिव गोपालकृष्ण न्यौपानेलगायतले बोलेका थिए ।