चितवन विशेष
रत्ननगरका ५४ परिवारलाई खाद्य सामग्री सहयोग
चितवन, असार २२-
रत्ननगरका बाढी प्रभावित एवम् दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका ५४ विपन्न तथा मजदूर परिवारलाई खाद्यान्न सहयोग भएको छ ।
रजतपट कोसेलीको विपद्मा खाद्यान्न वितरण अभियानअन्तर्गत सो सहयोग भएको हो । रत्ननगर नगरपालिका–६ मा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको समन्वयमा ‘सेभ द माइन्ड’ नेपालकी अध्यक्ष एवम् सामाजिक अभियान्ता पूजा भुसालको पहलमा सहयोग गरिएको हो । रत्ननगर–५, ६ र ७ मा रहेको वाढी प्रभावित एवम् दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न जो लकडाउनको समयमा काम गर्न नपाएका कारण बिहान बेलुकी छाकनै नटर्नेहरुलाई खाद्यान्न सामग्री सहयोग गरिएको थियो ।
अप्ठ्यारो परिस्थितिमा राहत सामग्री सहयोग गरिएको उपशाखाका निवर्तमान सभापति एवम् उपशाखाअन्तर्गत सञ्चालित नागरिक सहायत कक्षका संयोजक राममणि खनालले बताए । विपन्न ५४ परिवारलाई खाद्य सामग्री वितरण गरिएको उनले बताए । सहयोगस्वरुप प्रति परिवार एक बोरा चामल नुन, दाल, तेल र चना सहयोग गरेको उपशाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
उक्त कार्यक्रममा वडा सदस्यद्वय किरण महतो, केशरी माया सुनार, निर्देशक समाजका उपाध्यक्ष दिपक खाडलगायतको सहभागिता रहेको थियो ।